लुम्बिनी सहित प्रदेश-१, मधेस र बाग्मतीमा आज हल्का पानी पर्ने सम्भावना, हिउँदे बालीलाई फाइदा पुग्ने



लुम्बिनी सहित प्रदेश-१, मधेस र बाग्मतीमा आज हल्का पानी पर्ने सम्भावना, हिउँदे बालीलाई फाइदा पुग्ने

काठमाण्डाै ९ पुस । आज देशका विभिन्न ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश एक, मधेस प्रदेश, बाग्मती र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना देखिएको छ । साथै देशका हिमाली भू–भागका थोरै ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ ।

तराईका केही ठाउँमा बिहानीपख हुस्सु र कुहिरो लागेको छ । पुस महिना लागेपछि देशभर नै चिसो बढेको छ भने तराईमा बिहानीपख हुस्सु र कुहिरो लाग्दै आएको छ । मौसमविद्का अनुसार आज केही ठाउँमा हल्का वर्षा र हिमपात भए पनि भोलिदेखि भने मौसममा सुधार आउने पूर्वानुमान गरिएको छ ।

अहिले देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । यस वर्ष हिउँदमा सरदरभन्दा कम वर्षा हुने आकलन छ । मौसमविद् सजिना शाक्यका अनुसार आज वर्षा भएमा यसवर्ष हिउँदयामको पहिलो वर्षा हुनेछ । पानी परेमा हिउँदेबाली गहुँ तथा आलुका लागि फाइदा पुग्नेछ ।

धेरै वर्षपछि नेपालमा पोहोर माघमा हिउँदे वर्षा राम्रो भएको थियो । सामान्यतया मंसिर १६ देखि फागुन मध्यसम्मसम्म हिउँदे वर्षाको समय मानिन्छ । तर यसवर्ष हिउँदमा वर्षा कम हुने मौसमविद्को अनुमान छ । पानी कम परे सुक्खा र अधिकतम तापक्रम बढ्न सक्छ ।

हिउँदयाममा पानी नपरे वा तुलनात्मक रुपमा कम परेमा हिउँदे खेतीबालीमा प्रभाव पर्ने नेपाल कृषि अनुसन्धान परिषद् नार्कका बाली विज्ञ डा. टीकाबहादुर कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे