पाण्डे दम्पत्तिको उदाहरणीय काम, विदेशबाट विद्यार्थीहरुलाई न्यानो कपडा



पाण्डे दम्पत्तिको उदाहरणीय काम, विदेशबाट विद्यार्थीहरुलाई न्यानो कपडा

गढवा ८ पुस । राप्ती गाउँपालिका वडा नम्बर ८ घर भै हाल क्यानडामा बस्ने हरि पाण्डे र निशा पाण्डेले आफ्ना बुकाको चौरासीपूजाको खर्च कटौति गरि गढवाका बिपन्न र सिमान्तकृत बर्गका अनाथ बिद्यार्थीहरुलाई न्यानो कपडा प्रदान गरेका छन् ।

बिदेसी भूमिमा रहेर पनि स्वदेश प्रतिको स्नेहता र सेवामुखी मानवताको गतिलो उदाहरण प्रस्तुत गरेकोे भन्दै पाण्डे दम्पत्तिलाई गढवा गाउँपालिका शिक्षा प्रमुख श्याम बिक र वडा अध्यक्ष बिरबहादुर आलेले उच्च प्रशंसा सहित धन्यवाद दिएका छन् । गढवा ५ मदपुर निवासी बिमला सुनारका श्रीमान भारतमा लापत्ता भएको बर्षौ भएको छ । उनले आफ्ना २ छोराछारी सुरेश र झरनालाई मजदुरी गरेर स्कूलको खर्च जोहो गर्दै आएको र जाडोमा न्यानो कपडा किन्ने आफ्नो क्षमता नभएको बताइन् । न्यानो कपडा किन्ने पैसा थिएन, छोराछोरी जाडोले कठ्याग्रीएका थिए । आज न्यानो कपडा पाउँदा म त खुसी नै छु ति नानीबाबुहरु झनै हौसिएका छन्–उनले आँखा रसाउँदै भनिन् ।

मेरो पनि घरमा समस्या भएकोले न्यानो कपडा थिएन । स्कूल आउँदा कस्तो जाडो हुन्थ्यो । आज न्यानो कपडा पाएर खुसी भएका छौं सोही बिद्यालयको कक्षा ८ मा पढ्ने एलिना चौधरी र कक्षा ६ मा पढ्ने झकास बिकले भने । गढवा ७ बस्ने मानबहादुर थापामगर पनि आफ्नो छोरी मियम थापाले न्यानो कपडा पाउँदा खुसी थिइन् । आफ्नो पारिवारीक अवस्था कमजोर भएको र न्यानो कपडा किन्न नसकिरहेको बेला आफ्नो छोरी नविना खातुनले कपडा पाएकोमा गढवा ६ निवासी जाहिदा खातुनको मुहारमा पनि खुसी छाएको थियो । बिद्यालयले बिपन्न सिमान्तकृत वर्गका अभिभावक समेतलाई बोलाएर उनिहरुका छोराछोरीहरुलाई न्यानो कपडा वितरण गरेको ब्यवस्थापन समितिका अध्यक्ष हुमाकान्त सुवेदीले बताए ।

बिहिवार बालकल्याण आधारभूत बिद्यालय गढवा ६ बालाखुटीले एक कार्यक्रमको आयोजना गरि सो बिद्यालयमा अध्ययनरत शिसु कक्षा देखी ८ कक्षा सम्मका अति बिपन्न, सिमान्तकृत तथा अनाथ ५५ जना बिद्यार्थीहरुलाई पाण्डे दम्पतिले पठाएको न्यानो कपडा वितरण गरेको हो । विद्यालय ब्वस्थापन समितिका अध्यक्ष हुमाकान्त सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष बिरबहादुर आले, वडा सदस्य दिनमणि आचार्य र गाउँपालिकाका शिक्षा प्रमुख श्याम बिकले बिद्यार्थीहरुलाई न्यानो कपडा हस्तान्तरण गरेका हुन् । यस्तो अवसरको चाँजो पाँजो मिलाउन गढवा गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य दिनमणि आचार्य र सोही बिद्यालयमा अध्यापन गर्नुहुने राधा पाण्डेले भूमिका खेल्नुभएको कार्यक्रममा जानकारी गराइएको हो ।

न्यानो कपडा पाउनेहरुमा अधिकांशको बुवा वा आमा नभएका, पारिवारीक स्थिती निकै कमजोर भएका अति बिपन्न बिद्यार्थीहरु रहेको बिद्यालयका प्रअ ताराप्रसाद ढुंगानाले बताए । बिदेशबाट पाण्डे दम्पतीले मानविय सेवामा देखाउनु भएको उदाहरणीय कामप्रति साधुवाद दिन्छौं–बिब्यस अध्यक्ष हुमाकान्त सुवेदीले भने ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे