दाङमा यस वर्ष धान उत्पादनमा कमी



दाङमा यस वर्ष धान उत्पादनमा कमी

दाङ ३ पुस । दाङमा यस वर्ष १२ प्रतिशतले धान उत्पादनमा कमी आएको छ । धानखेती गर्ने समयमा वर्षा नहुँदा धान उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । यस वर्ष ३७ हजार ७ सय ३० हेक्टर क्षेत्रफलमा बर्खे र चैते धान लगाईएकोमा १ लाख ५४ हजार २ सय ४३ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रका तथ्यांक अधिकृत पृथ्वी लामिछानेले जानकारी दिएका छन् । यस वर्ष चैते धान दुई सय हेक्टरमा लगाइएको बताए ।

कृषि ज्ञान केन्द्रका तथ्यांक अधिकृत लामिछानेका अनुसार यस वर्ष ५ प्रतिशतले धान लगाउने क्षेत्रफल समेत घटेको उनको भनाई छ । त्यस्तै गत वर्ष बर्खे र चैते धान ३९ हजार ४ सय हेक्टरमा लगाइएको थियो । जसमध्य ३६ हजार ८ सय हेक्टरमा बर्खे धान लगाइएको थियो भने २५ सय ५९ हेक्टरमा चैते धान लगाइएको थियो । त्यस्तै उत्पादन भने १ लाख ७३ हजार ३६० मेट्रिकटन धान उत्पादन भएको बताए ।यस वर्ष जिल्लामा धान रोपाइको समयमा पर्याप्त मात्रामा पानी नपर्दा धान उत्पादनमा कमी आएको बताए।

त्यस्तै जिल्लामा हाव्रेड यूएस–३१२, बिन्देश्वरी, राधा–४ र सुख्खा–३ धान लगाउने गरेको बताए । जिल्लामा विशेषगरी हाव्रेड जातको धान लगाउने गरेको पाइन्छ । अन्य धान भन्दा हाव्रेड जातको धानको उत्पादन राम्रो भएकोले किसानको रोजाइमा अहिले हाव्रेड धान पर्ने गरेको बताए । जिल्लामा रैथाने धान लोप हुँदै गएको छ । जिल्लामा रैथाने धान कुल क्षेत्रफलको एक प्रतिशत पनि रोपाइ नभएको कृषि ज्ञान केन्द्रका अधिकृत लामिछानेले बताए ।

यसअघि जिल्लामा टिल्की र तीनथाना जातको रैथाने धानको खेती हुने गरेको बताए। तर पछिल्लो समय मौसम प्रतिकुल र नयाँ जातका धान आएसंगै रैथान धानको रोपाइ निकै न्यून रुपमा हुने गरेको उनको भनाइ छ । जिल्लामा अहिले छिट्फुट रुपमा मात्रै टिल्की र तीनथाना जातको धान लगाउने गरेको बताए । पछिल्लो समय रैथाने जातका धान रोपाइ नहुँदा रैथाने जातका धान लोप हुने अवस्थामा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे