प्रधानमन्त्रीका लागि दाबी पेस गर्न राष्ट्रपति भण्डारीद्वारा आह्वान



प्रधानमन्त्रीका लागि दाबी पेस गर्न राष्ट्रपति भण्डारीद्वारा आह्वान

काठमाण्डाै ३ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेकी छिन् । राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर नेपालको संविधानको धारा ७६ उपधारा २ अनुसार सरकार गठन गर्न राष्ट्रपति भण्डारीले सात दिनको समय दिएकाे जानकारी गराएको छ ।

नेपालको संविधानको धारा ७६ उपधारा २ मा प्रतिनिधि सभामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधि सभा सदस्यले प्रधानमन्त्री दाबी गर्न सक्ने व्यवस्था छ । त्यही व्यवस्थाअनुसार आउँदो १० गते आइतवार बेलुकी ५ बजेभित्र दाबी पेस गर्न भनिएको राष्ट्रपतिको कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

नेपालको संविधानको धारा ७६ को उपधारा १ मा प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने र उनको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुने व्यवस्था छ । तर अहिले कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेकाले त्यस धाराको उपधारा २ अनुसार राष्ट्रपतिले दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधि सभाको सदस्यका लागि दाबी पेस गर्न आह्वान गरेकी हुन् ।

यो व्यवस्था अनुसार कुनै व्यक्तिले बहुमत पुर्‍याएमा चुनावको परिणाम घोषणा भएको मितिले ३० दिनभित्र प्रधानमन्त्री नियुक्त हुनुपर्ने व्यवस्था छ । बहुमत पुर्‍याएर प्रधानमन्त्री नियुक्त नभएमा वा त्यसरी नियुक्त भएको व्यक्तिले नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्न नसकेमा प्रतिनिधि सभामा सबैभन्दा बढी सदस्यहरू भएको दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नसक्ने व्यवस्था छ । तर त्यसरी नियुक्त भएको व्यक्तिले पनि ३० दिनभित्र विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ ।

विश्वासको मत लिन नसकेमा राष्ट्रपतिले बहुमत पुर्‍याउने आधार पेस गर्ने प्रतिनिधि सभाको जुनसुकै सदस्यलाई प्रधानमन्त्रीको दाबी गर्ने अवसर दिनसक्ने व्यवस्था छ । त्यस्तो व्यक्तिले पनि ३० दिनभित्र विश्वासको मत प्राप्त गर्नुपर्छ । त्यसरी नियुक्त भएको व्यक्तिले पनि विश्वासको मत प्राप्त गर्न नसकेको वा प्रधानमन्त्री नियुक्त हुन नसकेको अवस्थामा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभाको विघटन गरी छ महिनाभित्र अर्को प्रतिनिधि सभा चुनाव सम्पन्न हुने गरी मिति तोक्ने व्यवस्था संविधानमा रहेको छ । दुई सय ७५ सदस्यीय प्रतिनिधि सभामा सरकार गठनका लागि एक सय ३८ सांसदको आवश्यकता पर्छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे