थकरीकोट र चित्रीकोटका जेष्ठ नागरिकहरु स्वास्थ्यबर्धक औषधी पाएपछि खुसी



थकरीकोट र चित्रीकोटका जेष्ठ नागरिकहरु स्वास्थ्यबर्धक औषधी पाएपछि खुसी

भालुवाङ १ पुस । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ स्थित विकट पहाडी गाउँ थकरीकोट र चित्रीकोटका जेष्ठ नागरिकहरु स्वास्थ्यबर्धक औषधी पाएपछि खुसी भएका छन् ।

राप्ती गाउँपालिकाको आर्थिक सहयोग तथा ५ नम्बर वडा कार्यालयको समन्वयमा नागरिक आरोग्य सेवा केन्द्र बराखुट्टीले शुक्रवार ती दुई गाउँका ७० जना जेष्ठ नागरिकलाई १÷१ वटा च्यवनप्रास, आमलकी चुर्ण, अश्गन्धा चुर्ण र माहानारायण तेल प्रदान गरेको छ ।
भौगोलिक हिसावले निकै पछाडी परेको सो गाउँमा स्वास्थ्य संस्था समेत नभएको र त्यहाँका नागरिकहरु स्वास्थ्यको पहुँचबाट समेत टाढा रहेका कारण त्यहाँका जेष्ठ नागरिकहरुको स्वास्थ्यलाई फाइदा पुगोस् भन्नका लागि स्वास्थ्यबर्धक औषधी वितरण गरिएको नागरिक आरोग्य सेवा केन्द्रका प्रमुख कविराज जुद्धबहादुर चौधरीले जानकारी दिएका छन् ।

प्रया मगर समुदायको बस्ती रहेको ती दुवै गाउँका जेष्ठ नागरिकहरुलाई स्वस्थ बनाउन नागरिक आरोग्य केन्द्रले जेष्ठ नागरिकका लागि स्वास्थ्य प्रवद्र्धन कार्यक्रम समेत सञ्चालन गरेको छ । त्यही कार्यक्रममा पुगेका ९१ वर्षिय खुसलराम समालले पहिलो पटक आफ्नै घर आँगनमा आएको संस्थाबाट पौष्टिक तथा स्वास्थ्यबर्धक औषधी पाएकोमा निकै खुसी लागेको अनुभव सुनाए । म शारीरिक हिसावले कमजोर छु, अव यो औषधीले केहि फाइदा गर्छ की भन्ने लागेको छ उनले भने । उनी जस्तै सोही ठाउँका ७० वर्षिया टिका थापा पनि स्वास्थ्यबर्धक औषधी पाएकोमा निकै खुसी छिन् । घर आगनमै निशुल्क रुपमा औषधी पाएकोमा उनीहरुले आयोजकलाई धन्यवाद समेत दिएका छन् ।

राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चौधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले विकट पहाडी गाउँमा स्वास्थ्य समस्यालाई मध्यनजर राखि करङ्गेकोटमा आधारभुत स्वास्थ्य इकाई केन्द्र स्थापना गर्न लागेको बताएका छन् । अव कुनै पनि नागरिक स्वास्थ्य सुविधा नभएकै कारण दुख पाउनुपर्ने वा ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य हुने कुरामा विश्स्त पारेका थिए ।

कार्यक्रममा प्रावि थकरीकोट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तराम सारु मगर, हिको संस्थाका गरिवु चौधरी, देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता, राप्ती गाउँपालिकाका प्रेस परामर्शदाता तुलबहादुर कवर मगर र नागरिक आरोग्य सेवा केन्द्रकी कार्यालय सहयोगी बालिका केसी पौडेल लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन नागरिक आरोग्य सेवा केन्द्रका प्रमुख कविराज जुद्धबहादुर चौधरीले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे