दाङका दुईजना कोरोना संक्रमितको बाँकेमा उपचारको क्रममा मृत्यु



दाङका दुईजना कोरोना संक्रमितको बाँकेमा उपचारको क्रममा मृत्यु

दाङ २ मंसिर । दाङका २ जना कोरोना संक्रमित पुरुषको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका ६ का ५६ बर्षीय र ८१ बर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । ५६ बर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा बिहीबार विहान २ बजेर २० मिनेट मृत्यु भएको उनले बताए ।

कोरोनाको आशंकामा कात्तिक २४ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा स्वाब परीक्षण गर्दा उनमा २५ गते कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि होम आइसोलेशनमा बसेका उनको स्वास्थ्यमा समस्या आएपछि कात्तिक २७ गते कोहलपुरमा ल्याइएको थियो । उनी मधुमेह र मृगौलाका विरामी थिए । त्यस्तै वडा नं. ६ का ८१ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा बिहीवार विहान साढे ३ बजे मृत्यु भएको उनले बताए । कोरोनाको आशंकामा कात्तिक २८ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा स्वाब परीक्षण गर्दा उनमा त्यसै दिन कोरोना पुष्टि भएको थियो ।

कोरोना पुष्टि भएपछि त्यसै दिन साँझ ४ बजे उनलाई भेरी अस्पतालमा ल्याइएको थियो । उनी मधुमेह र मृगौलाका विरामी थिए । जिल्लामा हालसम्म कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिकामा ८ जना, तुलसीपुरमा १० जना, लमही नगरपालिकामा ३ जना र राप्ती गाउँपालिकामा २ जना कोरोना संक्रमणको मृत्यु भएको छ । जिल्लामा बुधबारसम्म २१ हजार ३१२ जनाको स्वाब पीसीआर परीक्षण गर्दा २ हजार ७८३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

ति संक्रमितमध्ये २ हजार २५० जना निको भएर डिस्चार्ज भएको कार्यालयका फोलक पर्सन कमल चन्दले जानकारी दिए । हालसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या ५१२ जना रहेको र ति मध्ये ४३३ जना होम आइसोलेशन र संस्थागत आइसोलेशनमा ७९ जना रहेको उनले जानकारी दिए । जिल्लामा भारत तथा तेस्रो मुलुकबाट आएर अहिलेसम्म १३ हजार ५२६ जना क्वारेन्टाइनमा बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे