दाङ सहित देशभरका सबै ठाउँमा मतदान केन्द्रको तयारी सम्पन्न : विहान ७ बजे देखि मतदान हुने



दाङ सहित देशभरका सबै ठाउँमा मतदान केन्द्रको तयारी सम्पन्न : विहान ७ बजे देखि मतदान हुने

दाङ ३ मंसिर । मंसिर ४ गते दाङ सहित देशैभर हुन गइरहेको प्रतिनिधि र प्रदेश सभा चुनावको तयारी सकिएको छ ।

प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारी नारायण भण्डारीका अनुसार दाङका १५३ वटा मतदान स्थल र ४६५ मतदान स्थलको तयारी पूरा भएको हो ।“मतदानकालागि आबश्यक सबै तयारी पूरा भइसकेको छ, सामग्री सबै तयारी अबस्थामा छन्”,उनले भने“आज सबै मतदान केन्द्रहरुमा मतदाताको लाईन, मतदान गर्ने स्थानलगायतका सामग्री तयारी अबस्थामा राखिएको छ ।”

उनका अनुसार प्रत्येक मतदान केन्द्रमा ८ जना कर्मचारी खटिएका छन् । दाङका सबै मतदान केन्द्र र अन्य कर्मचारी गरि ३ हजार ७ सय २० जना कर्मचारी खटाईको हो । साथै मतदान केन्द्रको सुरक्षा ब्यबस्था पनि कडा बनाईएको छ । दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीका अनुसार आबश्यक परेको खण्डमा हेलिकप्टरबाट समेत निरीक्षण गर्ने गरि तयारी गरिएको छ । जिल्लाका मतदान स्थलहरुमा म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी खटाईएको छ । साथै आबश्यक परेको खण्डमा नेपाली सेना समेत परिचालन गर्ने तयारी गरिएको छ ।

अहिले ६ हजार हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्लामा प्रतिनिधिसभाका लागि ३३ जना उम्मेदवार छन्, भने प्रदेशसभाकालागि ४३ उम्मेदवार छन् । जिल्लामा ४ लाख १४ हजार ९ सय ५६ मतदाता रहेका छन् । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यकालागि आईतबार देशभर मतदान हुदैछ । त्यस्तै जिल्लाको घोराही र तुलसीपुर कारागारमा रहेका कैदीबन्दीहरुलाई अस्थायी मतदान केन्द्र मार्फत मतदानको व्यवस्था मिलाईएको छ ।

दाङका १२ वटा मतदान स्थल अति सम्वेदनशील रहेका छन् । जसमा राजनीतिक, सामाजिक र भूगोललाई कारक मानिएको छ । यस्तै, १ सय ३० वटा मतदान स्थल सम्वेदनशील पहिचान गरिएको छ भने ११ वटा मतदान स्थल सामान्य पहिचान गरिएको छ । चार मतदान केन्द्रमा महिला मात्रै दाङमा चार मतदान केन्द्रमा महिला कर्मचारीहरुले मात्रै जिम्मेवारी पाएका छन् ।

ति मतदान केन्द्रमा मतदान अधिकृतदेखि सहयोगीसम्म महिलालाई जिम्मेवारी दिइएको छ । महिलामैत्री मतदान स्थलहरुमा घोराही उपमहानगरपालिका वडा नं. १८ मा रहेको आधारभूत विद्यालय बेलघारीको मतदान केन्द्र (क) मा महिला कर्मचारीहरु मात्रै रहेका छन् । त्यहाँ मतदान अधिकृत, कर्मचारी र सुरक्षाकर्मी सबै महिला मात्रै रहेका छन् ।

जसको मतदान अधिकृतमा इन्दु बसेल छन् । त्यस्तै सोही विद्यालयको (ख) केन्द्रमा उर्मिला तिमल्सिना मतदान अधिकृत रहेका छन् । यसैगरी, घोराही उपमहानगरपालिकाको वडा नंं १७ मा रहेका प्रावि हरिद्वारको (ग) मतदान केन्द्रमा पनि खिमा भुसाललाई मतदान अधिकृतको जिम्मेवारी दिईएको छ । सोही वडामा रहेको गोरक्ष रत्ननाथ मावि चौघेराको (क) मतादान केन्द्रमा मोतीकुमारी विश्वकर्मा मतदान अधिकृत रहेका छन् । त्यस्तै दाङमा ६१ मतदान केन्द्रको नेतृत्व महिलालाई दिईएको छ ।

क्षेत्र नं.१ मा २४ वटा, क्षेत्र नं.२ मा १७ वटा र क्षेत्र नं.३ मा २० वटा मतदान केन्द्रमा महिलालाई जिम्मेवारी प्रदान गरिएको हो । दाङ क्षेत्र नं.१ मा १५२,  क्षेत्र नं.२ मा १४६ र क्षेत्र नं. ३ मा १६७ वटा मतदान केन्द्र रहेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका निर्वाचन अधिकारी नारायण भण्डारीले बताएका छन् ।

यता निर्वाच आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले मतदान केन्द्र निर्माण गर्दा पुरुष र महिलाको अलग अलग लाइनको व्यवस्थासँगै अपांग भएका व्यक्ति, गर्भवती, ज्येष्ठ नागरिक, बिरामी, लैंगिक अल्पसंख्यकका लागि छुट्टै व्यवस्था गर्न अनुराेध गरेका छन् । यही व्यवस्था अनुसार देशैभर मतदान केन्द्र निर्माण सम्पन्न भएको प्रमुख आयुक्त थपलियाले बताए ।

देशभर १० हजार ८९२ मतदान स्थल र २२ हजार २२७ मतदान केन्द्र रहेका छन् । चुनावमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेको आयोगको तथ्यांक छ । प्रतिनिधि सभातर्फ १६५ र प्रदेश सभातर्फ ३३० सिटका लागि प्रत्यक्षतर्फको चुनाव हुँदैछ । त्यस्तै, प्रतिनिधि सभाका ११० सिट र प्रदेशमा प्रत्येक प्रदेशका लागि त्यो प्रदेशसभाको कुल आकारको ४० प्रतिशत सिटका लागि समानुपातिक चुनाव हुँदैछ ।  चुनावको लागि २ लाख ४६ हजार ९ सय ६० कर्मचारी खटिएका छन् । यस्तै नेपाली सेना, प्रहरी, सशस्त्र र म्यादी प्रहरी गरी झण्डै ३ लाख सुरक्षाकर्मी खटिएका गृह मन्त्रालयले जनाएको छ । मतदान आइतबार विहान ७ बजे देखि बेलुकी ५ बजे सम्म हुने छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे