भ्रामक सामग्री फैलाइएकोमा प्रेस काउन्सिलको ध्यानाकर्षण



भ्रामक सामग्री फैलाइएकोमा प्रेस काउन्सिलको ध्यानाकर्षण

काठमाण्डाै ३ मंसिर  । केही सञ्चारमाध्यमको नाम दुरुपयोग गरेर चुनाव सम्बन्धी भ्रमपूर्ण सामग्री प्रचार भइरहेकोमा प्रेस काउन्सिलले ध्यानाकर्षण भएको जनाएको छ । केही सञ्चार माध्यमको मास्टहेड प्रयोग गरी राजनीतिक दल तथा उम्मेदवारका बारेमा अफवाहपूर्ण, दुष्प्रचारयुक्त, गलत एवं भ्रामक समाचार बनाइ सामाजिक सञ्जालबाट सम्प्रेषण भएकोप्रति काउन्सिलले विज्ञप्ति निकालेर गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सामाजिक सञ्जालमा फैलाइएका सामग्रीका सम्बन्धमा सम्बन्धित मिडियासँग जानकारी माग गर्दा ती शीर्षकमा कुनै समाचार सम्प्रेषण नगरेको जवाफ प्राप्त भएको र कतिपय मिडियाले आफ्नो सामाजिक सञ्जालबाट त्यस बारे प्रष्ट्याइसकेका काउन्सिलले विज्ञप्तमा उल्लेख गरेको छ ।

काउन्सिलले चुनावमा प्रभाव पार्ने किसिमले अफवाहपूर्ण, दुष्प्रचारयुक्त र फेक न्युजबाट सजग रहन सबैसँग अनुरोध गरेको छ । स्थिर समयमा सामाजिक सञ्जालबाट दुष्प्रचारयुक्त र अफवाहपूर्ण सामग्री सम्प्रेषण भएमा विद्युतीय अपराध सम्बन्धी कानुन आकर्षित हुने स्मरण गराउँदै काउन्सिलले चुनावलाई स्वच्छ, स्वतन्त्र, मर्यादित, निष्पक्ष एवं भयरहित ढङ्गबाट सम्पन्न हुने वातावरण बनाउन समेत आग्रह गरेको छ ।

चुनावलाई प्रभाव पार्ने उद्देश्यले कुनै पनि माध्यमबाट दुष्प्रचारयुक्त मिथ्या सूचना तथा टिकाटिप्पणी नगर्न र सामाजिक सज्जालबाट समेत पोष्ट, शेयर, कमेन्ट नगर्न/नगराउनतर्फ प्रेस काउन्सिलले सञ्चार माध्यम, पत्रकार, सञ्चारकर्मी तथा सामाजिक सञ्जालका प्रयोगकर्ताको गम्भीर ध्यानाकर्षण पनि गराएको छ । 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे