सहरी विकास मन्त्रालयका सचिव सिंहलाई आयोगले स्पष्टीकरण सोध्यो



सहरी विकास मन्त्रालयका सचिव सिंहलाई आयोगले स्पष्टीकरण सोध्यो

काठमाडौँ २ मंसिर । निर्वाचन आयोगले सहरी विकास मन्त्रालयका सचिव रमेश सिंहलाई स्पष्टीकरण सोधेको छ ।

मतदाता प्रभावित गर्ने गरी निर्वाचन क्षेत्रमा प्रवेश गरेको भन्ने सूचना आएपछि आयोगले शुक्रबार सिंहलाई स्पष्टीकरण सोधेको हो । निर्वाचन आचारसंहिता, २०७९ को दफा ७ को खण्ड (क) अनुसार नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने व्यवस्था छ ।

त्यस्तै सोही दफाको खण्ड (ख) अनुसार निजहरुले राजनीतिक दल वा उम्मेदवारले आयोजना गरेको बैठक, सभा, कार्यशाला, गोष्ठी, सम्मेलन, अन्तरक्रियाजस्ता कार्यक्रममा भाग लिन नहुने व्यवस्था छ । आयोगले सोही व्यवस्थाबमोजिम सिंहलाई स्पष्टीकरण सोधिएको जनाएको छ ।

‘तपाईं के-कति कारणले दाङ जिल्लामा जानुभएको हो ? तपाईं नेपाल सरकारको सचिव रहेको व्यक्ति नियमानुसार बिदा वा काज स्वीकृत गरी दाङ जानुभएको हो, होइन ? तपाईंले दाङ जिल्लामा गई मतदातालाई प्रभावित गर्ने कार्य गर्नुभएको छैन भन्ने आधार प्रमाण के छ ? यदि तपाईंले मतदातालाई प्रभावित गर्ने कार्य गरेको हो भने उक्त कार्य निर्वाचन आचारसंहिता, २०७९ को प्रतिकूल हुने र यदि तपाईं नियमानुसार बिदा वा काज स्वीकृत नगराई दाङ जानुभएको हो भने प्रचलित निजामति सेवासम्बन्धी कानुन प्रतिकूल हुने हुँदा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७९ को दफा २३ को उपदफा (३) र ऐ. ऐनको दफा ४४ बमोजिम कारबाही हुनु नपर्ने कारण के छ ? यो पत्र कुनै माध्यमबाट तपाईंलाई प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगको इमेल ठेगानामा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेस गर्नुहोला,’ आयोगले लेखेको पत्रमा उल्लेख छ । आयोगले यसबारे मुख्य सचिवलाई समेत पत्र लेख्दै सहरी विकासमन्त्रीको दाङ भ्रमणबारे जानकारी गराइदिन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे