मतदान स्थल पुग्दै कर्मचारी र सुरक्षाकर्मी, कतै बाक्लो हिउँले समस्या



मतदान स्थल पुग्दै कर्मचारी र सुरक्षाकर्मी, कतै बाक्लो हिउँले समस्या

काठमाण्डाै २ मंसिर । पर्सि आइतवार हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि कर्मचारी र सुरक्षाकर्मी मतदान स्थल पुग्न थालेका छन् । निर्वाचन आयोगले आवश्यक सम्पूर्ण तयारी तथा व्यवस्थापन पूरा भएको जनाएको छ। कतिपय कर्मचारी र सुरक्षाकर्मी यसअघि नै चुनाव सामग्रीसहित मतदान स्थलमा पुगिसकेका छन् ।

मुख्य  निर्वाचन  कार्यालय  र निर्वाचन कार्यालयबाट मतदान स्थल र केन्द्रमा खटिएका कर्मचारी आवश्यक सामग्री बुझेर कार्यस्थलमा खटिन थालेका निर्वाचन आयोगले जनाएको छ । उनीहरुले बुझेको  सामग्री  प्रहरीको  सुरक्षामा मतदान स्थलमा लैजाने व्यवस्था छ ।

चुनावमा  खटिएका  कर्मचारीले  तोकिएको निर्वाचन अधिकृतको कार्यालबाट मतपत्र, मतपेटिका, छेकबार, स्वस्तिक छाप, लाहा, मतपेटिका सुरक्षण सिल, स्टिकर, स्ट्याम्प प्याड, मसी, मतदाता परिचयपत्र, रबर म्याट, कपडा, कैँची, स्केल, कागज, सियो, धागो, सलाई, ब्रोसरलगायतका ५६ प्रकारका निर्वाचन सामग्री बुझेका छन् । ती सामग्रीलाई मतदान केन्द्रका अधिकृत, कर्मचारी र सुरक्षाकर्मीले सुरक्षा दिएर राख्नेछन् । साथै मतदान स्थल निर्माणको काम सुरु हुनेछ ।

मतदान अधिकृतसहितका कर्मचारीले मतदान केन्द्र वरिपरि कुनै पनि प्रकारको जाँडरक्सी खान पाइनेछैन । चुनावको सुरक्षाका लागि पहिलो घेरामा म्यादी प्रहरी, नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल र तेस्रो घेरामा नेपाली सेना खटिनेछन् ।

एक  मतदान  केन्द्रका  लागि  मतदान  अधिकृत,  सहायक  मतदान  अधिकृत, सहायक कर्मचारी पाँच र सहयोगी एकसहित आठ जना कर्मचारी रहने व्यवस्था छ । कतिपय  नजिकका  मतदान  केन्द्रले सुरक्षाको कारण मतपत्र नबुझेको र त्यहाँ आज र भोलि मतपत्र  लगिनेछ ।

कतिपय विकट जिल्लाका विकट ठाउँमा खटिएका कर्मचारी र सुरक्षाकर्मी समस्यामा परेका छन् । मुस्ताङका प्रहरी प्रमुख डीएसपी रविन्द्र पौडेलका अनुसार बाटोमा हिउँ जमेका कारण वारागुङमुक्ति क्षेत्र गाउँपालिका–५ साङ्ताको हिमाली आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गराउन कर्मचारी र सुरक्षाकर्मी पुग्न सकेका छैनन् ।

आज डोजर लगेर बाटो सफा गरी कर्मचारी पुर्याउने तयारी छ । हुम्लाको नाम्खा गाउँपालिका–६ को लिमीका तीन वटै मतदान केन्द्रमा हेलिकप्टरबाट कर्मचारी र सुरक्षाकर्मी पुर्याइएको छ । निमित्त निर्वाचन अधिकृत श्यामबहादुर रानाका अनुसार लिमीका तीन वटा मतदान केन्द्रका लागि खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई हेलिकप्टरबाट लगिएको हो ।

प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा मतपत्र र चुनाव सामग्रीसहित २ लाख ४६ हजार ९ सय ६० कर्मचारी र नेपाली सेना, प्रहरी, सशस्त्र र म्यादी प्रहरी गरी झण्डै ३ लाख जनशक्ति खटिएको छ । देशभर एकैसाथ हुन लागेको चुनावमा कुल १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता छन् ।

उनीहरूले १० हजार ८ सय ९२ मतदान स्थलमा रहेका २२ हजार २ सय २७ केन्द्रबाट मतदान गर्नेछन् । त्यस्तै, १ सय ४१ अस्थायी मतदान केन्द्रबाट ४ लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधि सभाको समानुपातिकमा भोट खसाल्नेछन् । प्रतिनिधि सभाका लागि २ हजार ४ सय १२ र प्रदेश सभाका लागि ३ हजार २ सय २४ जना उम्मेदवार छन् । चुनाव आउन अब दुई दिन मात्रै बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे