मंसिर ७ गते भित्र प्रत्यक्ष तर्फकाे नतिजा सार्वजनिक गर्ने आयाेगकाे याेजना



मंसिर ७ गते भित्र प्रत्यक्ष तर्फकाे नतिजा सार्वजनिक गर्ने आयाेगकाे याेजना

काठमाण्डौ १ मंसिर । आउँदो प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावमा प्रत्यक्षतर्फको नतिजा तीन दिनभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगको योजना रहेको छ ।

चुनावको तयारीबारे जानकारी दिन आज बिहीवार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनाव भएको तीन दिन अर्थात् मंसिर ७ गते बेलुका सम्ममा प्रत्यक्षतर्फका सबै नतिजा सार्वजनिक गरि सकिने कार्ययोजना रहेको बताए ।  ंसबै मतपेटिका सङ्कलन भएको लगत्तै देखि मतगणना सुरु हुनेछ’, उनले भने, ‘तीन दिनभित्र प्रत्यक्षतर्फ र त्यसको पाँच दिनभित्र समानुपातिकका सबै मतगणना सक्ने गरी योजना बनाएका छौँ ।’

मंसिर २२ गते भित्र चुनावको सबै नतिजाको प्रतिवेदन आयोगले राष्ट्रपति समक्ष बुझाउन चाहेको जनाउँदै उनले भने, ‘निर्वाचन प्रक्रियामा सबैको प्रतिबद्धता र सहयोग भएको खण्डमा त्यो सम्भव हुन्छ भन्नेमा आयोग ढुक्क छ ।’ अस्वाभाविकरूपले मतदान भएका केन्द्रलाई आयोगले विशेष सूचीमा राख्ने जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान केन्द्रमा तीन वटा सुरक्षा घेरा रहने व्यवस्था गरिएको बताए ।

उनले कुनै केन्द्रमा अप्रिय घटना भएमा ३० मिनेटभित्र नेपाली सेना पुग्ने व्यवस्था मिलाइएको जानकारी दिए । बुथ कब्जा गरेर चुनाव जित्ने सोच नराख्न राजनीतिक दल र उम्मेदवारलाई सुझाव दिँदै उनले वारेसका आधारमा मतदान गर्ने प्रवृत्तिलाई निस्तेज तुल्याइने बताए ।

यही मंसिर ४ गते देशभर एकै चरणमा हुने चुनावको सबै तयारी पूरा भएको आयोगले जनाएको छ । यस चुनावमा एक करोड ७९ लाख ८० हजार पाँच सय ७० मतदाता कायम छन् । यही मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेका बालिग मतादाताले चुनावमा मतदान गर्न पाउने छन् ।

मतदानका लागि १० हजार आठ सय ९२ मतदान स्थलमा २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ । यस्तै एक सय ४१ अस्थायी मतदान केन्द्र र आफूलाई पायक पर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट झन्डै चार लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे