चुनावका लागि विशेष सुरक्षा योजना, आज मध्यरातिदेखि भारतसँगको सीमानाका बन्द
काठमाण्डाै १ मंसिर । आइतवार हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावका लागि सुरक्षा व्यवस्थापन प्रभावकारी पारेको उच्चस्तरीय सुरक्षा समितिले जनाएको छ । सुरक्षा संवेदनशीलताका आधारमा सुरक्षाकर्मी परिचालन गर्ने निर्णय समेत भएको छ।
उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकमा निर्वाचन प्रचारप्रसारका क्रममा, केही उम्मेदवार तथा उनीहरूले प्रयोग गरेका गाडी तोडफोड तथा तराईका केही जिल्लामा भइरहेका घटनाबारे आयोगले सुरक्षा निकायका अधिकारीसँग चासो व्यक्त गरेको थियो ।
चुनावलाई ध्यानमा राखेर आज राति १२ बजेदेखि नै नेपाल–भारत सीमानाका बन्द गरिँदैछ । यसका लागि गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायमार्फत् भारतसँग समन्वय गरिएको छ । मतदान नसकिएसम्म नाकाहरू बन्द हुने गृह मन्त्रालयले जनाएको छ ।
चुनावका लागि देशभर कुल १० हजार ८ सय ९२ केन्द्र र २२ हजार २ सय २६ मतदान स्थल तोकिएको छ । आइतवार हुने मतदानमा देशभरबाट १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताले पाँच वर्षका लागि नयाँ जनप्रतिनिधि चयन गर्नेछन् ।