चुनावमा मतपेटिका साट्न दिइन्न : प्रमुख निर्वाचन आयुक्त थपलिया



चुनावमा मतपेटिका साट्न दिइन्न : प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाण्डाै २० कार्तिक । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनावमा मतपेटिका साटिन्छ कि भनेर आशङ्का नगर्न आग्रह गरेका छन् ।

आज आइतवार काठमाण्डाैमा आयाेजित पूर्वप्रमुख निर्वाचन आयुक्तहरूकाे सामूहिक छलफलमा प्रमुख निर्वाचन आयुक्त थपलियाले यस्तो भनाइ राखेका हुन् । उनले आफूले मतदानपछि पनि मतपेटिका साटिन्छ भन्ने दिव्यज्ञान कहिल्यै प्राप्त नगरेको दोहोर्‍याउँदै आउँदाे चुनावमा त्यस्तो कहीँ कतै हुन नदिने प्रतिबद्धता पनि व्यक्त गरे ।

‘सेक्युरिटी कोड’ को आधारमा मतपत्र छापिने भएकाले मतपेटिका फेरिए पनि फेरिएको मतपेटिकामा आयोगको मतपत्र हुनै नसक्ने प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाइ थियाे । उनले भने, ‘चुनावमा मटपेटिका साटिन्छ कि भनेर आशङ्का गर्नु पर्दैन । मतपेटिका साट्न दिइन्न । मतपत्रमा सेक्युरिटी कोड हुन्छ । मतपत्रको सुरक्षा गर्न नेपाली सेनाको टुकडी हुन्छ । कसैले कहीँ मतपेटिका साट्न सक्ने सम्भावना छैन । यस्तो खालको आशङ्का नराखिदिन म विनम्र अनुरोध गर्दछु । ’

प्रमुख निर्वाचन आयुक्त थपलियाले आफूले चुनावमा मतपेटिका साटिन्छ भन्ने अनुभव कहिल्यै नगरेको पनि बताए । उनले निर्वाचन आचारसंहिताको पालना गराउन आयोग कडाइका साथ लागिपरेको बताए । प्रमुख निर्वाचन आयुक्त थपलियाले चुनावलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउने आयोगको अभिभाराप्रति आशङ्का नगरिदिन पनि अनुरोध गरे ।  निर्वाचन आयोगले चुनावमा झन्डै १० हजार पर्यवेक्षक परिचालन गर्ने योजना रहेको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले हरेक मतदान केन्द्रमा कम्तीमा एक जना पर्यवेक्षक परिचालन गर्ने योजना रहेको पनि बताए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे