विप्लव सहित तीन पार्टीले चुनाव बहिस्कार गर्ने



विप्लव सहित तीन पार्टीले चुनाव बहिस्कार गर्ने

काठमाडौं २० कार्तिक । ४ मंसिरको निर्वाचनलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित तीन वटा कम्युनिस्ट पार्टीहरू बहिस्कार गर्ने घोषणा गरेका छन् । बहिस्कारको घोषणा गर्ने पार्टीहरूमा विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी रहेका छन् ।

तीनवटै दलले आइतबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा संयुक्त पत्रकार सम्मेलन गर्दै २६ देखि ३० कात्तिकसम्म विरोध प्रर्दशन र कोणसभालगायतका कार्यक्रम सार्वजनिक गरेका हुन् । कार्यक्रममा नेकपाका प्रवक्ता प्रकाण्डले संसदीय व्यवस्था रहेसम्म नेपालले सुखको श्वास फेर्न नसक्ने तर्क गर्दै अहिलेको चुनाव जनप्रतिनिधि छान्ने बहानामा पैसाको खोलो बगाएर मत किन्ने खेल भएको आरोप लगाए । उनले अहिलेको चुनावबाट जनताको प्रतिनिधिभन्दा पनि दलालहरु चुनिएर आउने भन्दै ‘दलाल संसदीय व्यवस्थाको चुनावलाई खारेज गर्ने’ बताए ।

‘संसदीय व्यवस्था र चुनावले श्रमजीविको अधिकार स्थापित गरेको इतिहासमा छैन, त्यसकारण यो चुनावलाई नांगो बनाएर खारेज र बहिस्कार गर्छाैं,’ उनले भने । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले अहिले संसदीय व्यवस्था नै कम्युनिस्टहरूको व्यवस्था जस्तो भएर आएको भन्दै कुनै पनि हालतमा जनवादविरुद्धको संसदीय चुनावलाई वैधानिकता नदिने बताए । उनले यो चुनावले कुनै पनि मूल्यमा जनताको अधिकार र राष्ट्रियता रक्षा गर्न नसक्ने हुँदा चुनाव खारेज गर्नुपर्ने बताए ।

त्यस्तै वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल ‘आहुति’ आगामी निर्वाचन नाटक मात्र भएको भन्दै खारेज गरेरै छोड्ने बताए । ‘राज्यले आफ्नो कालो कर्तुतलाई छोप्न र श्वास भर्नको लागि यस्ता चुनावहरुको नाटक गर्ने गरेको छ’, उनले भने ।सरकारले भने विप्लव नेतृत्वको नेकपाले चुनाव खारेज गर्ने धारणा सार्वजनिक गरेलगत्तै कसैले अशान्ती मच्चाउने काम गरे कडा कदम चाल्ने जनाएको छ । अनलाइखबरसँगको कुराकानीमा गृहमन्त्री बालकृष्ण खाँणले चुनावी गतिविधिलाई सुरक्षा निकायले नजिकबाट नियालीरहेको भन्दै विप्लवलाई चुनौती दिएका छन् ।

‘यो चुनाव गतिविधिलाई सुरक्षा निकायले नजिकैबाट हेरिरहेको छ,’ गृहमन्त्री खाँणले भने, ‘कहीँनेर कडा बन्नुपर्यो भने आवश्यकता अनुसार कडा पनि बन्नेछौं । किनभने चुनावलाई भयरहित ढंगले सम्पन्न गर्ने हाम्रो चाहना र दायित्व हो ।’

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे