आज दिउँसो ४ बजेर ५२ मिनेटमा सूर्यग्रहण लाग्ने



आज दिउँसो ४ बजेर ५२ मिनेटमा सूर्यग्रहण लाग्ने

काठमाण्डौ ८ कार्तिक । कात्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

ग्रहणले आज दिउँसो ४ बजेर ५२ मिनेटमा स्पर्श गर्नेछ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ बजेर २४ मिनेटमा सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । ग्रहणले बेलुकी पौने सात बजे छोड्नेछ । ३२ मिनेट नेपालबाट ग्रहण देखिने उनले बताए ।

खण्डग्रास सूर्यग्रहण पहाडी र खुल्ला क्षेत्रबाट मात्रै देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । खण्डग्रास सूर्यग्रहणमा चन्द्रमाले सूर्यको केही भाग मात्र छेकेको देखिन्छ । सम्म परेका भूभागबाट ग्रहण देख्न कठिन हुने सोसाइटीले जनाएको छ ।  नाङ्गो आँखाले भने ग्रहण हेर्न नहुने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए ।

विशेष किसिमको चस्मा लगाएर वा पानीमा छायाँ पारेर हेर्न सकिने उनले बताए । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । यसैबीच,यही महिनाको २२ गते मङ्गलवार ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दैछ । कात्तिक महिनाको कृष्ण पक्षको औँसीमा सूर्य र शुक्ल पक्षको पूर्णिमामा चन्द्रग्रहण लाग्नेछ । औँसीमा सूर्य र पूर्णिमामा चन्द्रग्रहण लाग्छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे