निवार्चन आयोगद्धारा खानेपानी मन्त्री चौधरी र काँग्रेस महामन्त्री थापालाई २४ घण्टे स्पष्टीकरण



निवार्चन आयोगद्धारा खानेपानी मन्त्री चौधरी र काँग्रेस महामन्त्री थापालाई २४ घण्टे स्पष्टीकरण

काठमाडाैँ ६ कार्तिक । निर्वाचन आयोगले खानेपानी मन्त्री एवं प्रतिनिधि सभा सदस्य बारा क्षेत्र नम्बर १ का उम्मेदवार उमाकान्त चौधरी र नेपाली काँग्रेसका महामन्त्री गंगन थापालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

मन्त्री चाैधरीले आचारसंहिता विपरीत चुनाव प्रचार प्रसारका क्रममा सरकारी गाडी दुरुपयोग गरेको विषयमा खानेपानी मन्त्री एवं प्रतिनिधि सभा सदस्यका बारा क्षेत्र नम्बर १ का उम्मेदवार उमाकान्त चौधरीलाई आयोगले २४ घण्टे स्पष्टिकरण सोधेको हो ।

मन्त्री चौधरीलाई आयोगले कुनै माध्यमबाट पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा तपाईँ उम्मेदवार रहेको जिल्लाको निर्वाचन कार्यालयमा आफैँ उपस्थित भइ वा प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न भनिएको छ ।
आयोगबाट मन्त्री चौधरीले प्रचार प्रसारका क्रममा सरकारी गाडीको नम्बर प्लेट नै परिवर्तन गरी प्रयोग गरेको सम्बन्धमा सूचना प्राप्त भएकाले जाँचबुझ गरी आयोगमा तीन दिनभित्र प्रतिवेदन पेस गर्न बारा क्षेत्र नम्बर एकको निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रहरी कार्यालय बारालाई समेत पत्राचार गरिएको छ ।

यता निर्वाचन आयोगले नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं–४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गगनकुमार थापालाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।

फेरि पनि काठमाडौं–४ का वासिन्दाको निम्ति निःशुल्क डेंगी परीक्षण तथा परामर्श सेवा लिएर तपाईंहरुको टोलमा आउँदैछौँ’, ‘डेंगीको बिरामी भई घरमै बस्नु भएकाहरूका लागि आवश्यक चिकित्सकीय परामर्श पनि उपलब्ध गराउने छौँ र तपाईंलाई डेंगीको परीक्षण र परामर्श आवश्यक भएमा मोबाइल नम्बर ९८६०३४०५८७ मा आफ्नो नाम, ठेगाना, सम्पर्क नम्बर एसएमएस गर्नु हुन अनुरोध छ’ भन्ने ब्यहोराको ट्वीट गरिएको भनि उजुरी प्राप्त भएकाले स्पष्टीकरण सोधेको आयोगले जनाएको छ।
निर्वाचन आचारसंहिताको विपरीत हुनेगरी ट्वीटरमार्फत मतदातालाई प्रभावित गर्ने कार्य देखिएकाले कुनै माध्यमबाट पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न आयोगले निर्देशन दिएको छ।
थापाले आफ्नो ट्वीटर एकाउन्टमार्फत गरेको सार्वजनिक सूचना निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (न) प्रतिकूल भई उक्त कार्यबाट निर्वाचन आचारसंहिताको उल्लंघन हुन गएको आयोगले भनेको छ ।
त्यसकारण थापालाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिमको कारबाही किन हुनु नपर्ने हो भन्दै आयोगले स्पष्ट पार्न भनेको छ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे