लमहीमा प्रमुख प्रशासकीय अधिकृत डाँगीलाई हाजिर गराउन उच्च अदालत तुलसीपुरकाे आदेश



लमहीमा प्रमुख प्रशासकीय अधिकृत डाँगीलाई हाजिर गराउन उच्च अदालत तुलसीपुरकाे आदेश

लमही २ कार्तिक । लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीलाई उच्च अदालत तुलसीपुरले हाजिर गराउन  लमही नगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको छ। अदालतले २८ गते अन्तरिम आदेश जारी गरेको थियो भने आज बुधबार पुनः उक्त आदेशलाई निरन्तरता दिएको छ ।

यहि असाेज २४ गते लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको अध्यक्षतामा बसेको बैठकले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न नदिने भनेर निर्णय गरेको थियो । नगर प्रमुखको अध्यक्षतामा बसेको बैठकले अन्यायमा परेको भन्दै डाँगी असाेज २७ गते उच्च अदालत तुलसीपुर रिट निवेदन दर्ता गरेका थिए । अदालतले  डाँगीकाे रिट निवेदनमाथि टुंगो नलागे सम्म निवेदकलाई तोकिएको पदमा हाजिर गराई कामकाज गर्न नरोक्नु, रोक्न नलगाउनु भनि विपक्षीहरुका नाममा २८ गते अदालत नियमावली २०७३ को नियम ४२ वमोजिम अन्तरिम आदेश जारी गरेको थियाे ।

कार्यपालिकाले गरेका निर्णयलाई प्रमाणीकरण गर्ने अधिकार प्राप्त व्यक्ति प्रमुख प्रशासकीय अधिकृत हो, प्रमुख प्रशासकीय अधिकृत बिना गरेका निर्णयहरु र बैठकलाई कानुनतः बैधानिक मान्न सकिंदैन, लमही नगरपालिकाका कानूनी सल्लाहकार दीपक रेग्मीले भने । डाँगीले सहज तरिकाले नगरपालिकामा हाजिरी गर्न नपाएपछि हाजिर गर्न पाउँ भन्दै उच्च अदालत तुलसीपुरमा रिट निवेदन दिएका थिए ।

नगरपालिकाका सबै सेवा प्रभावित

यता प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाबाट प्रबाह हुने सबै कामकाज ठप्प भएका छन। सेवाग्राही मर्कामा परेका छन। नगरपालिकामा प्रशासन कार्य संचालन गर्ने मुख्य व्यक्ति नहुँदा नियमित सिफारिस देखि लिएर योजनाका, भुक्तानी समेत रोकिएका छन ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक कारोबार हुन सकेको छैन भने बाढी पिडितहरुले अहिले सम्म राहत पाउन सकेका छैनन् । तेलको कुपनमा हस्ताक्षर गर्दिने मान्छे नभएर फोहोर उठाउने गाडी समेत बन्द हुने अवस्थामा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे