‘हेभिवेट’ विरुद्ध तीन महिला



‘हेभिवेट’ विरुद्ध तीन महिला

दाङ — प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दाङका तीन क्षेत्रमा तीन ‘हेभिवेट’ पुरुषको मुख्य प्रतिस्पर्धामा महिला उत्रिएका छन् । दाङ १ मा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका मेटमणि चौधरीविरुद्ध एमालेकी शान्ता चौधरी उम्मेदवार छिन् ।दाङ २ मा एमाले महासचिव शंकर पोखरेलविरुद्ध गठबन्धनबाट माओवादी केन्द्रकी रेखा शर्माले उम्मेदवारी दिएकी छन् । दाङ ३ मा गठबन्धनका कांग्रेस केन्द्रीय सदस्य दीपक गिरीविरुद्ध एमाले केन्द्रीय सदस्य कोमल वलीले मनोनयन दर्ता गरेकी छन्

जिल्लाका तीनवटै क्षेत्रमा राष्ट्रिय राजनीतिमा स्थापित नेतासित महिला प्रतिस्पर्धामा उत्रिएका हुन् । महिला उम्मेदवारहरू पनि राजनीतिमा नौला होइनन् । चौधरी र वली पूर्वसांसद हुन् भने शर्मा पूर्वमन्त्री हुन् । यसअघि चौधरी र शर्मा दुई पटक तथा वली एक पटक समानुपातिकबाट चुनिएर संसद् पुगेका थिए । महिला उम्मेदवारहरू लैंगिक विषयभन्दा पनि समग्र जिल्लाको विकासका एजेन्डा लिएर मतदातामाझ पुगिरहेका छन् । ‘हामी महिला, बालबालिका, शिक्षा, स्वास्थ्य, विकास निर्माणजस्ता सबै विषय लिएर जनतामाझ गइरहेका छौं,’ एमालेकी चौधरीले भनिन् ।

प्रमुख दलहरूले प्रत्यक्षमा अत्यन्तै थोरै महिलालाई उठाएका बेला दाङमै तीन जना सशक्त महिला उम्मेदवार हुनु सकारात्मक रहेको गठबन्धनकी उम्मेदवार शर्माले बताइन् । ‘निर्वाचनमा देशभर महिलाको उपस्थिति कमजोर भए पनि दाङमा संघतर्फ राम्रो देखिएको छ । यसले हामीलाई उत्साहित बनाएको छ,’ उनले भनिन्, ‘हामी महिलाको सशक्तीकरण र राजनीतिक उन्नतिका लागि काम गर्ने प्रण गरेर चुनावी मैदानमा गएका छौं ।’

मुख्य प्रतिस्पर्धामा महिला उम्मेदवार देख्दा जनता उत्साहित भएको दाङ ३ की एमाले उम्मेदवार कोमल वलीले बताइन् । ‘जनताले पहिलो पटक मुख्य प्रतिस्पर्धामा यति धेरै महिला देख्न पाएका छन्,’ उनले भनिन्, ‘यो ठूलो राजनीतिक उपलब्धि हो । हामी पछाडि परेको वर्ग र समुदायको हितमा लड्ने एजेन्डासहित मतदातामाझ गइरहेका छौं ।’ पुरुषसरह विकास निर्माण र नीति निर्माण तहमा काम गर्ने योजना पनि आफूहरूले प्रस्तुत गरिरहेको उनले सुनाइन् ।

अन्य क्षेत्रमा महिला उम्मेदवार कम भएका बेला दाङमा मुख्य प्रतिस्पर्धी महिला नै पर्नुलाई राजनीतिमा महिला सहभागिताको महत्त्वपूर्ण उपलब्धिका रूपमा लिन सकिने महिला मानवअधिकार रक्षक सञ्जालकी जिल्ला अध्यक्ष सुशीला पौडेलले बताइन् । ‘यो नीति निर्माण तहमा महिला पुग्ने अवसर हो । राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने नेताहरूविरुद्ध महिला उम्मेदवार खडा हुनु सकारात्मक छ,’ उनले भनिन् ।

दाङ १ मा शान्ता चौधरीका प्रतिस्पर्धी मेटमणि दोस्रो पटक चुनावी मैदानमा छन् । उनी २०७४ मा एमालेबाट निर्वाचित भएका थिए । अहिले उनी समाजवादीका तर्फबाट सहरी विकासमन्त्री छन् । महिला नेत्रीसँग प्रतिस्पर्धा गर्न पाउनुलाई आफूले रोचक रूपमा लिइरहेको उनले बताए । ‘मैले यसअघि पहिलो पटक चुनाव लडेर जितेको थिएँ । अहिले सहकर्मी महिला उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै छु,’ उनले भने, ‘हामी जसले जिते पनि काम गर्ने सबै वर्ग, समुदायका लागि हो ।’ शान्ता पूर्वकमलरी हुन् । उनी भूमिअधिकार आन्दोलनबाट राजनीतिमा आएकी हुन् । उनी २०६४ र २०७४ मा समानुपातिक सांसद भएकी थिइन् । २०७० मा दाङ २ मा कांग्रेसकी सुशीला चौधरीसँग पराजित भएकी थिइन् । दाङ १ मा एमाले केन्द्रीय सदस्य गंगा चौधरीले हाम्रो नेपाली पार्टीबाट स्वतन्त्र उम्मेदवारी दिएकी छन् । टिकट नपाएपछि एमाले छाडेर उनले उम्मेदवारी दिएकी हुन् । मेटमणि पनि गत वर्षसम्म एमालेमै थिए ।

पोखरेल २०५१ मा दाङ २ बाट कांग्रेसका दीपक गिरीलाई पराजित गर्दै पहिलो पटक सांसदमा निर्वाचित भएका थिए । २०५६ मा त्यही क्षेत्रमा उनी कृष्णकिशोर घिमिरेसँग पराजित भए । २०६४ मा समानुपातिक सांसद भए । २०७० मा दाङ ४ मा कांग्रेसका बुद्धिराम भण्डारीसँग पराजित भएका थिए । २०७४ मा दाङ २ (१) बाट प्रदेशसभा सदस्य निर्वाचित भएर लुम्बिनी प्रदेशको मुख्यमन्त्री भए ।

शर्मा २०७० मा समानुपातिक सांसद भएर सामान्य प्रशासनमन्त्री भइन् ।२०७४ मा पनि समानुपातिक सांसद भइन् । उनी पहिलो पटक प्रत्यक्ष निर्वाचनमा होमिएकी छन् । दाङ २ मा पर्ने घोराही उपमहानगरपालिका एमालेले जितेको छ । बंगलाचुली माओवादी र कांग्रेस गठबन्धनले जितेको छ । एमाले महासचिव नै उम्मेदवार भएपछि पार्टी पूर्ण जोडबलका साथ निर्वाचन प्रचारमा होमिएको छ । गठबन्धनलाई पनि एमाले महासचिवलाई पराजित गर्ने चुनौती देखिएको छ ।

२०५१ मा एमालेका शंकर पोखरेलसँग पराजित भएका गिरीलाई २०६४ मा माओवादीका सुष्मा शर्मा घिमिरेले हराएका थिए । २०७० मा एमालेका उत्तर वलीलाई पराजित गरी उनी विजयी भए । २०७४ मा एमालेका हीराचन्द्र केसीसँग पराजित भए । उनी पाँचौं पटक चुनावी मैदानमा छन् । वली राप्रपाबाट एमालेमा प्रवेश गरी राष्ट्रिय सभा सदस्य भएकी थिइन् । उनी पहिलो पटक प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गरिरहेकी छन् । वली गीतसंगीत र रेडियो नेपालको समाचार वाचनमार्फत जनतामाझ परिचित छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे