राप्तीको अति दुर्गमबस्तीका पहिरो पिडितलाई स्वास्थ्यकर्मी अधिकारीद्धारा राहत प्रदान



राप्तीको अति दुर्गमबस्तीका पहिरो पिडितलाई स्वास्थ्यकर्मी अधिकारीद्धारा राहत प्रदान

भालुवाङ ३० असोज । देउखुरीको राप्ती गाउँपालिका—५ नम्बर वडाको अति दुर्गम बस्तीका अति पहिरो पिडितहरुलाई सिसहनियाँका एक स्वास्थ्यकर्मीले आफ्नो व्यक्तिगत खर्च कटाएर राहत प्रदान गरेका छन् । गत असोज २२ गते परेको अबिरल बर्षापछि गएको पहिरोले उक्त वडाको पुनखोला र करङ्गेकोटका चार घर पूर्ण रुपमा क्षतिग्रत भएको थियो ।

पहिरोबाट पूणर्मा क्षति भएका चार घरपरिवारलाई राप्ती गाउँपालिका—५, प्रगतिनगर सिसहनियाँ स्थित सत्यसाई मेडिकल हलका सञ्चालक, स्वास्थ्यकर्मी तथा सिसहनियाँ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष इश्वरीप्रसाद अधिकारीले उक्त राहत प्रदान गरेका हुन् ।

स्वास्थ्यकर्मी अधिकारीले पहिरो पिडित नमबहादुर घर्तीमगर, नारायण घर्तीमगर, गिरबहादुर सुनार र खेतबहादुर थापालाई जनही २५ केजी चामल, १ केजी दाल, १ लिटर तेल र एक पोका स्वाइबिन र तिहारमा एकछाक मिठो परिकार खानाका लागि एक हजार सहितको राहत प्रदान गर्नु भएको थियो ।

मैले दैनिक खर्च गर्ने फजुल खर्चलाई कटाएर बचेको पैसाले समाजिक उत्तरदायित्व अन्र्तगत यस बर्ष पहिरो पिडितलाई राहत बितरण गरेको हुँ स्वास्थ्यकर्मी अधिकारीले भने । मैले दैनिक चार कप चिया लगायतका विभिन्न ठाउँमा गर्ने खर्चलाई कटौती गर्दै मेरो जन्मदिन र यस्तै बिपत्तका बेला सहयोग गर्ने गरेको. छु, अधिकारीले भने ।

उक्त राहत राप्ती गाउँपालिका—५ नम्बर वडाध्यक्ष देवप्रसाद चौधरीको रोहबरमा वडा कार्यालयमा बितरण गरिएको थियो । सो अवसरमा बोल्दै वडाध्यक्ष चौधरीले व्यक्तिगतमा पहिरो पिडितलाई राहत प्रदान गर्नु अत्यन्तै पूण्यको काम भएको भन्दै खुलेरै प्रशंसा गरे । साथै वडाध्यक्ष चौधरीले पहिरो पिडितहरुलाई अब राहतले मात्र नभई दिर्घकालिन व्यवस्थापनका लागि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले ध्यान दिनुपर्ने बताए ।

यता राहत लिंदै पहिरो पिडितहरुले स्वास्थ्यकर्मी अधिकारीको गरेको सहयोगको प्रंशसा गर्नुका साथै धन्यबाद ज्ञापन गरेका थिए । उनीहरुले अब राहत संगै घर निर्माणका लागि पनि पहल गरिदिन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे