सामुदायिक वनको संरक्षण प्रति सवै उपभोक्ता सचेत हुनुपर्छ : अध्यक्ष पोख्रेल
गढवा २७ असोज । गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेल शर्माले सामुदायिक वन संरक्षण प्रति सवै उपभोक्ता सचेत र जिम्मेवार हुनुपर्ने बताएका छन् ।
शान्ति सामुदायिक वन उपभोक्ता समूह गढवा गाउँपालिका २ कोठरीको बिहीबार भएको १६ औं वार्षिक साधारणसभा उद्घाटन कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । प्रमुख अतिथि समेत रहेका अध्यक्ष पोख्रेलले पछिल्लो समय सामुदायिक वनका पदाधिकारीहरू निश्क्रय रहनुले पनि सामुदायिक वन विनाश हुने क्रम बढेको बताएका थिए ।
त्यस्तै उनले वनजंगलमा हुने चोरी निकासी तथा तस्करी रोक्न वनका पदाधिकारी र उपभोक्ता दुवै जिम्मेवार हुनुपर्ने बताउँदै सामुदायिक वनको संरक्षणमा गढवा गाउँपालिकाले सक्दो सहयोग गर्ने बताएका छन् । समुहका अध्यक्ष देवेन्द्र यादवको अध्यक्षता एवम् गढवा गाउँपालिका अध्यक्ष यमनारायण पोख्रेल शर्माको प्रमुख अतिथ्यतामा भएको सभामा आर्थिक प्रतिवेदन समुहका कोषाध्यक्ष शिवलाल भण्डारी र लेखा प्रतिवेदन लेखा संयोजक रञ्जित चाैधरीले प्रस्तुत गरेका थिए ।
सो अवसरमा गढवा गाउँपालिकाका प्रवक्ता तथा २ नम्बर वडा अध्यक्ष भक्तु चाैधरी, २ नम्बर वडा सदस्य ओमप्रकाश चाैधरी,गढवा सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष नवराज शर्मा, समाजसेवी तथा बुद्धिजीवी भगवती प्रसाद चाैधरी,सल्लाहकार भिमलाल चाैधरी र देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम उत्कृष्ट अंक ल्याएका विद्यार्थीहरूलाई नगद पुरस्कार प्रदान गर्नुका साथै अतिथिहरूलाई सम्मान र मायाको चिनो समेत प्रदान गरिएको थियो । भने कार्यक्रमको बीच बीचमा साँस्कृतिक प्रस्तुती समेत देखाइएको थियोे । समुहका उपाध्यक्ष माधवलाल चाैधरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन समुहका लेखा संयोजक रञ्जित चाैधरीले गरेका थिए ।

