आफ्नै पार्टीका केही नेताहरू सरकार परिवर्तनको खेलमा लागेका छन् : मुख्यमन्त्री पाेख्रेल
देउखुरी टुडेकर्मी, दाङ ३० कार्तिक ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोख्रेलले नौ/नौ महिनामा सरकार परिवर्तन गर्न बानी परेका आफ्नै पार्टीका केही नेताहरू अहिले सरकार परिवर्तनको खेलमा लागेको बताएका छन् ।
दाङको तुलसीपुरमा आइतबार भएको कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाेख्रेलले नेकपाका नेताहरू केही पाउन सकिन्छ कि भनेर सरकार परिवर्तन गर्न लागिपरेको बताए । लामो राजनीतिक अस्थिरता पछाडि बनेको स्थायी सरकार परिवर्तन गर्दा देश र नागरिकलाई घाटा हुने पाेखरेलले बताए ।
देशमा चाहिएको परिर्वतन होइन, स्थायित्व हो’, मुख्यमन्त्री पोखरेलले भने, ‘तर सरकारमा जान नपाएकाहरू आत्तिएका छन् ।’ सरकार बदल्ने कुरा नागरिक र राष्ट्रको हितमा नभएको बताउँदै उनले अहिलेको आवश्यकता राजनीतिक स्थायित्व र योजनाबद्ध रूपले विकास र समृद्धिको पहलकमदी गर्ने बेला भएको हो बताए ।
तीन वर्षमा सरकारले धेरै राम्रा काम गरेको दाबी गर्दा उनले सरकारलाई राम्रो ढङ्गले आड/भरोसा दिने बेला भएको बताए।
दाङको तुलसीपुर उपमहानगरपालिका ७ काे राप्ती शान्ति उद्यान पार्कमा निर्माण गरिएको बुद्धकाे मूर्ति अनावरण गर्दै मुख्यमन्त्री पोखरेलले राप्ती शान्ति उद्यान आकर्षक पर्यटकीय गन्तव्य बनाउने बताए । त्यसका लागि आकर्षक रूपमा यसको विकास गर्न यहाँका नागरिकहरू लागिपर्नु र प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताए।
१७ फिट अग्लो रहेको बुद्धको मूर्तिको निर्माण कार्य सम्पन्न गर्न तुलसीपुर उपमहानगरपालिका र प्रदेश सरकारले २४ लाख १६ हजार रुपैयाँ आर्थिक सहयोग गरेका थिए ।