गंगा चौधरीको गम्भीर आरोप : विदेशी दबावमा परेर मलाई टिकट दिएनन्



गंगा चौधरीको गम्भीर आरोप : विदेशी दबावमा परेर मलाई टिकट दिएनन्

असोज २४ दाङ । निवर्तमान सांसद तथा एमाले केन्द्रीय सदस्य गंगा चौधरीले आफ्नो पार्टी नेतृत्वमाथि गम्भीर आरोप लगाएकी छन् । हिजो स्वतन्त्रतर्फ उम्मेदवारी मनोनयन गराएसँगै दाङमा आज सोमबार बिहान सञ्चारकर्मी तथा सर्वसाधारणसँग एक भेलामा बोल्दै चौधरीले एमाले नेतृत्वले विदेशी दबावमा परेर आफूलाई प्रतिनिधिसभाको प्रत्यक्षतर्फ टिकट नदिएको आरोप लगाएकी हुन् ।

‘मैले भारतको हस्तक्षेपबारे प्रश्न उठाउँदै आएकी थिएँ, यो कुरा सबैलाई थाहा छ, चुच्चे नक्साको समर्थनमा मैले आवाज उठाएकै हो,’ एमालेले यसअघि समानुपातिक तर्फ सांसद बनाएकी चौधरीले रोष प्रकट गरिन्, ‘तर आज नेकपा एमाले पनि बाहिरिया छिमेकी राष्ट्रको दबावमा परेर हामीजस्तो देशको हित चाहने व्यक्तिलाई टिकट दिएन ।’

विगतमा प्रतिनिधिसभाबाट तत्कालीन सांसद सरिता गिरिलाई आफूले आउट गर्न भूमिका खेलेको भन्दै उनले गर्व गरिन् । आफूलाई एमसीसीको विरुद्धमा आवाज उठाएको नतिजास्वरुप दण्डित गरिएको दाबी गरिन् । उनले भनिन्, ‘मैले कुनै व्यक्तिगत स्वार्थबस हिजो उम्मेदवारी दिएकी होइन, मेरो एउटै स्वार्थ छ यो देश बचोस् ।’

त्यसपछि पत्रकारले प्रश्न गर्छन्, ‘त्यसका लागि संसदमा जानैपर्छ र ? बाहिरबाट पनि भूमिका खेल्न सकिँदैन ? तपाईं त पार्टीको नेता पनि हो ।’

चौधरी भन्छिन्, ‘आज देशका लागि सबैभन्दा महत्वपूर्ण भूमिका खेल्नका लागि म संसदमा जानैपर्छ । त्यसैले उम्मेदवार बन्ने निर्णय गरें ।’

त्यसपछि फेरि उनलाई सोधिन्छ, ‘स्वतन्त्र उम्मेदवारी दर्ता गरेसँगै अब तपाईंको पार्टी केन्द्रीय सदस्य पद के हुन्छ ?’

चौधरी भन्छिन्, ‘अब यसको अर्थ त पार्टी नेतृत्वले आफैं बुझ्नुपर्ने हो । मैले किन स्वतन्त्र उम्मेदवारी दिनुपर्‍यो  भन्ने उसले बुझोस् ।’

त्यसपछि उनले आफैं अर्थ लगाइन्, ‘हेर्नोस्, काठमाडौंमा स्वतन्त्रबाट बालेन आएर महानगरमा अहिले जुन कमाल गरिरहेका छन् । त्यसैले यसको अर्थ कोही पनि व्यक्ति पार्टीमै हुनुपर्छ भन्ने छैन ।’

चौधरीका भनाइहरुबाट अब उनी एमालेमा छैनन् भन्ने अर्थ लाग्छ । तर यो वाक्य उनले सिधै घोषणा भने गरेकी छैनन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे