बर्दियाको राजापुर नगरपालिकामा बाढी पस्दा ३ सयभन्दा बढी घर डुबानमा
बर्दिया २४ असाेज । केही दिनदेखिको अविरल वर्षाका कारण कर्णाली नदीमा पानीको सतहले खतराकाे तह पार गरेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा तीनदेखि निरन्तर वर्षा भएपछि नदीमा पानीको सतहले खतराको तह पार गरेको हो । कर्णाली नदीको जलस्तर बढेर गएराति नै खतराको तह पार गरेको छ ।
चिसापानीमा नदीको पानीको सतह १२ मिटरभन्दा माथि पुगेको छ । कर्णाली नदीका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बर्दियाको राजापुर नगरपालिका वडा नम्बर १ को दौलतपुर, चनौरा, भदालीपुर यसैगरी कैलालीको टीकापुर नगरपालिका क्षेत्रका नदी किनारका समुदायलाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेकाे छ । गएराति कर्णाली नदीकाे जलस्तर बढेर खतराको तह पार गरेपछि राति झण्डै १ बजेतिर राजापुर नगरपालिकाका विभिन्न गाउँमा बाढी पसेको हो ।
राजापुर नगरपालिका वडा नम्बर १ का धेरैजसो गाउँ डुबानमा परेका छन् । कर्णाली नदीको बाढी गाउँमा पसेपछि राजापुर नगरपालिका-१ का झण्डै ३ सयभन्दा बढी घर डुबानमा परेको स्थानीय सञ्चारकर्मी लक्ष्मण ढुङ्गानाले जानकारी दिनुभयो ।
बाढी प्रभावित परिवारलाई सुरक्षित ठाउँमा राखिएको र उनीहरुलाई खाजा खानाको व्यवस्थापन गर्न थालिएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले जानकारी दिनुभयो । वडा नम्बर १ का विभिन्न गाउँका धेरैजसो घरमा बाढी पसेको छ । वडा नम्बर ३ र ७ मा पनि बाढी पस्ने खतरा छ । आज बेलुकासम्म बर्दियामा डुबानको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।