प्रतिनिधिसभामा महिला उम्मेदवार न्यून, सबै भन्दा कम कांग्रेसबाट ५ जनाकाे मात्रैको उम्मेदवारी



प्रतिनिधिसभामा महिला उम्मेदवार न्यून, सबै भन्दा कम कांग्रेसबाट ५ जनाकाे मात्रैको उम्मेदवारी

काठमाण्डाै २४ असाेज । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा दलहरुले निकै कम सङ्ख्यामा मात्रै महिला उम्मेदवार बनाएका छन् । निर्वाचन आयोगले प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला उम्मेदवार बनाउन निर्देशन दिए पनि दलहरुले त्यसको बेवास्ता गरेका छन् ।

नेकपा एमालेबाट प्रतिनिधि सभामा ११ जना महिलाले उम्मेदवारी दिएका छन् । नेकपा माओवादी केन्द्रले ७ जना र नेपाली कांग्रेसले ५ जना महिलालाई मात्र टिकट दिएको छ।

कांग्रेसले तेह्रथुममा सीता गुरुङ र मोरङ क्षेत्र नम्बर–२ बाट सुजाता कोइरालालाई उम्मेदवार बनाएको छ । कांग्रेसबाट सिरहा क्षेत्र नम्बर–२ मा पूर्वउपसभामुख चित्रलेखा यादवको उम्मेदवारी परेको छ ।

कांग्रेसबाट मकवानपुर क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ ले र अर्घाखाँचीबाट पुष्पा भुसालले उम्मेदवारी दर्ता गराए ।

एमालेले भगवती चौधरीलाई सुनसरी निर्वाचन क्षेत्र नम्बर–३ बाट र मञ्जु चौधरीलाई उदयपुर–१ बाट टिकट दिएको छ । एमालेबाट बारा–३ बाट ज्वाला शाह र धनुषा–३ बाट  जुली कुमारी महतोले उम्मेदवारी दिए ।

यस्तै एमालेले स्याङ्जा–२ बाट पद्मा अर्याल,  कास्की–२ बाट विद्या भट्टराई, बाग्लुङ–२ बाट मञ्जु शर्मा चालिसे, दाङ–१ बाट शान्ता चौधरी र दाङ–३ बाट कोमल वलीलाई अवसर दिएको छ । एमालेबाटै डोटीमा गौरी ओलीले र कञ्चनपुर–३ मा निरु पालले उम्मेदवारी दिए ।

माओवादी केन्द्रबाट ललितपुर– ३ मा पम्फा भुसाल, काठमाण्डौ–९ मा कल्पना धमला, दाङ–३ मा रेखा शर्मा, काठमाण्डौ–२ मा ओनसरी घर्ती, जुम्लामा गोमा गौतम, कञ्चनपुर–३ मा विना मगर र काठमाण्डौ–७ मा मानुषी यमी भट्टराई उम्मेदवार बनेकी छिन् ।

त्यस्तै नेकपा एकीकृत समाजवादीबाट गुल्मी–२ मा रामकुमारी झाँक्रीले उम्मेदवारी दिए । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट मोरङ–३ मा रेखा थापाले उम्मेदवारी दिए । प्युठानबाट राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे