देशभरबाट प्रतिनिधिसभामा २ हजार ४९४ र प्रदेशसभामा ३ हजार ४२३ जनाको उम्मेदवारी दर्ता



देशभरबाट प्रतिनिधिसभामा २ हजार ४९४ र प्रदेशसभामा ३ हजार ४२३ जनाको उम्मेदवारी दर्ता

काठमाण्डाै २४ असाेज । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यको चुनावका लागि २ हजार ४ सय ९४ जनाको उम्मेदवारी परेको छ । यस्तै, प्रदेश सभा सदस्यका लागि ३ हजार ४ सय २३ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले हिजो आइतवार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म भएको मनोनयनपत्र दर्ताका लागि समय दिएको थियो । प्रतिनिधि सभाअन्तर्गत देशभर २ हजार २ सय ९१ पुरुष र २ सय ३३ महिला गरी कुल २ हजार ४ सय ९४ जनाले आफ्नो उम्मेदवारी दर्ता गरेका निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार प्रदेश सभातर्फ ३ हजार १ सय २३ पुरुष, २ सय ९५ महिला र अन्य १ गरी जम्मा ३ हजार ४ सय २३ जनाको उम्मेदवारी परेको छ । कतिपय जिल्ला र निर्वाचन क्षेत्रमा सञ्चार सम्पर्क सहज नभएकाले यकिन विवरण आउन बाँकी रहेको र पूरा सूची आज मात्रै आउने आयोगले जनाएको छ ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको प्रत्यक्षतर्फका उम्मेदवारहरूले सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा मनोनयनपत्र दर्ता गरेका थिए । उम्मेदवारी दर्ता उत्साहजनक तथा शान्तिपूर्ण भएको आयोगले जनाएको छ ।

आयोगकाअनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता भएका कुनै पनि उम्मेदवारविरुद्ध सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे