नेकपा एमाले दाङले तीन क्षेत्रमा तामझाम सहित मनोनयन दर्ता गर्ने



नेकपा एमाले दाङले तीन क्षेत्रमा तामझाम सहित मनोनयन दर्ता गर्ने

घोराही २२ असोज । नेकपा एमाले दाङले जिल्लाको तीनवटै निर्वाचन क्षेत्रमा तामझामका साथ मनोनयन दर्ता गर्ने भएको छ । असोज २३ गते निर्वाचन कार्यतालिका अनुसार एमालेले जिल्लाकै तीनै स्थानमा मनोनयन दर्ता भव्यको उपस्थितिमा गर्न लागि रहेको एमाले दाङका सचिव मनोहर बुढाथोकीले जानकारी दिएका छन् ।

निर्वाचन कार्यालय विहान ११ बजेदेखि साँझ पाँच बजेसम्म मनोनय दर्ता कार्यक्रम राखेको छ । जस अनुसार नेकपा एमालेले आइतबार दिउँसो ३ बजे दाङ क्षेत्र नम्वर २ मा उमेदवारी दर्ता गर्ने भएको छ । नेकपा एमालेका महासचिव शंकर पोख्रेलको उपस्थितिमा तामझामसहित मुख्य निर्वाचन कार्यालयमा उमेदवारी दर्ता गरिने एमाले दाङका प्रचार विभाग प्रमुख सविन प्रियासनले जानकारी दिए । एमालेले दाङ क्षेत्र नम्वर २ मा एमाले महासचिव शंकर पोख्रेललाई उमेदवार बनाएको छ ।

यसैगरी प्रदेश तर्फ २ क मा एमालेका प्रभावशालि नेता बलिभद्र राना र २ ख मा नेता गिरिराज केसीलाई एमालेले प्रदेशको उमेदवार बनाएको छ । एमालेका महासचिव शंकर पोख्रेलको निर्वाचन क्षेत्र भएकाले यस क्षेत्रलाई सबैले विशेषरुपमा हेरेका छन् । यसैगरी एमालेले निर्वाचन क्षेत्र नम्वर ३ मा दिउँसो १ बजे उमेदवारी दर्ता गर्न लागि रहेको छ ।

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीको विशेष उपस्थितिमा तुलसीपुरमा रहेको निर्वाचन कार्यालयमा एमालेले उमेदवारी दर्ता गर्नेछ । एमालेले दाङ क्षेत्र नम्वर ३ मा चर्चित नेतृ कोमल वलीलाई संघ र ३ क मा चर्चित नेता घनश्याम पाण्डेय र ख मा एमाले जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेतलाई उमेदवार बनाएको छ । क्षेत्र नम्वर ३ मा एमालेले हेभिवयट उमेदवार अगाडी सारेको छ ।

उता दाङ क्षेत्र नम्वर १ मा पनि एमालेले मनोनयन दर्ता कार्यक्रम भव्य बनाउने तयारी गरेको छ । दाङ क्षेत्र नम्वर १ को संघीय उमेदवार एमाले सचेतक चर्चित नेतृ शान्ता चौधरी, १ क बाट नेता गंगाराम भट्टराई र ख बाट नेता कुलबहादुर केसीलाई एमालेले उमेदवार बनाएको छ । दाङका सबै क्षेत्रमा यस पटक एमालेले जनप्रेमी, विकास प्रेमी नेताहरुलाई उमेदवार बनाएकाले पार्टीको पक्षमा माहोल बन्ने एमालेले विश्वास लिएको छ ।

यसैबीच तीन ठाउँमा हुन लागि रहेको मनोनयन दर्ता कार्यक्रममा सबैको सहभागिताका लागि एमाले दाङले सबैमा अनुरोध गरेको छ । एमाले दाङका अध्यक्ष हुकुम बस्नेत, सचिव मनोहर बुढाथोकी, दाङ जिल्ला इञ्चार्ज नरुलाल चौधरीले मनोनय दर्ता कार्यक्रममा सहभागी हुन पार्टीपंक्ति, शुभेच्छुक सबैमा अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे