पूर्वबाट मौसममा क्रमशः सुधार हुँदै, सोमवारसम्म पानी पर्ने सम्भावना



पूर्वबाट मौसममा क्रमशः सुधार हुँदै, सोमवारसम्म पानी पर्ने सम्भावना

काठमाण्डाै २२ असाेज । पूर्वबाट मौसम क्रमशः सुधार हुँदै गएको छ । प्रदेश १, मधेस प्रदेश र बाग्मतीमा मौसम केही सुधार भएको छ । अहिले काठमाण्डौ उपत्यकामा घाम लागेको छ । तर मौसम सुधार हुँदै गए पनि केही ठाउँमा भने हल्का पानी परिरहेको छ ।

काठमाण्डौ उपत्यकामा मौसम बदलीकै अवस्था छ । काठमाण्डौमा आज शनिवार पनि दिउँसोपख पानी पर्ने सम्भावना छ । काठमाण्डौ उपत्यकामा हिजो शुक्रवार बिहान केही बेर घाम लागे पनि दिउँसोपछि फेरि पानी परेको थियो । यो क्रम गए रातिदेखि रोकिएको छ । पानी पार्ने प्रणाली पश्चिमतर्फ सरेको छ ।

त्यस्तै अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा पनि हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले नेपालमा मध्य–पश्चिम बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।

आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा मौसम सामान्यदेखि पूर्ण बदली रहने अनुमान छ । आज सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । अझै दुई/तीन दिन पानी पर्न नरोकिने र सोमवारसम्म मौसम सुधार हुने नदेखिएको महाशाखा मौसमविद् मञ्जु बासीले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे