दार्चुलामा पहिरोमा परी दुईको मृत्यु, ६ बेपत्ता, उद्धार कार्यजारी



दार्चुलामा पहिरोमा परी दुईको मृत्यु, ६ बेपत्ता, उद्धार कार्यजारी

दार्चुलाई २५ भदौ । शुक्रवार रातिबाट परेको अविरल वर्षाले दार्चुलामा ठुलो जनधनको क्षति गरेको छ । नौगाड गाउँपालिकामा पहिरोमा परि एक महिला र एक नबालिका गरी दुई जनाको मृत्यु भएको छ । नौगाड गाउँपालिका–१ सल्लामा पहिरोमा परि ३० वर्षीया जानकी ठगुन्ना (किम्ती) को मृत्यु भएको स्थानीय श्याम धामीले जानकारी दिनुभयो । उहाँका अनुसार पानसिंह ठगुन्नाकी छोरी मोती ठगुन्नाको पनि मृत्यु भएको छ ।

मृतक बालिकाको शव पुरिएको अवस्थामा फेला परेको छ । शुक्रवार राति एक बजेतिर खसेको पहिरोमा फसेका मृतकका बुवा पानसिंह ठगुन्ना र आमा फागुनी ठगुन्नाको जिवितै उद्धार गरिएको छ । यस्तै नौगाड गाउँपालिका–२ दल्लेखका ६० वर्षीय मोहनराम पार्की पनि बेपत्ता छन् । पहिरोले सल्ला गाउँका आठ घर पुरिएका छन् भने स्थानीय बिरा ठगुन्नाको हातखुट्टा भाँच्चिएर घाइते अवस्थामा उद्धार गरिएको छ ।

नौगाडमा पहिरोमा परि केही मानिस बेपत्ता भएको आशङ्का गरिएको छ । महाकाली नगरपालिकाको डुङ्गरीमा एकै परिवारका धनसिंह कार्की, मानमती कार्की, दिपक कार्की र दिनेश कार्की बेपत्ता रहेका छन् । खोजी कार्य भइरहेको स्थानीय उदय बोहराले बताए ।

यता, दार्चुला सदरमुकाम खलङ्गाको बंगाबगड क्षेत्रमा आएको बाढीले ठुलो क्षति पुर्याएको छ । महाकाली नगरपालिका क्षेत्रमा करिब डेढ दर्जन घरहरू बगेका छन् । अहिलेसम्म एक विद्यालय, ११ घर, दुई वटा पुल र केही सवारी साधन बाढीले बगाएको भेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिए । बाढी पहिरोमा परी ६ जना बेपत्ता भएको उहाँले बताउनुभयो । उद्धार र खोजी कार्य जारी रहेकोले क्षतिको यकिन विवरण प्राप्त हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घटनास्थलमा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ ।

महाकाली र नौगाड गाउँपालिकाका गरी दर्जनौँ घरहरु बगेको स्थानीयले बताएका छन् । खलङ्गास्थित दशरथ नगर आधारभूत विद्यालय बाढीले बगाएको छ । दुहुँ र महाकाली जोड्ने लास्कु झोलुङ्गे पुल र मोटरबेल पुल लास्कु खोलाले बगाएको छ । दार्चुला टिंकर सडक अवरुद्ध भएको छ । दार्चुला टिंकर सडकमा पार्किङ गरी राखिएका चार वटा जिपहरू महाकालीले बगाएको छ । महाकाली नदी नियन्त्रण आयोजनाले निर्माण गरेको पक्की तटबन्धमा क्षति पुर्याएको छ । बाढीले घर भत्काउने क्रम जारी रहेको हुँदा उच्च सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले अनुरोध गर्नुभयो । नदी तटिय क्षेत्रका नागरिक बाढीको त्रासले रातीदेखिनै घरबाहिर रहेका छन् । दार्चुलामा बर्षेनी बाढी, पहिरोजन्य विपद्ले ठुलो क्षति पुर्याउदै आएको छ ।

घाइतेहरूको उद्धार हेलिकोप्टरमार्फत गर्न प्रयास भइरहेको छ । प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना बाढी पहिरो प्रभावित क्षेत्रमै पुगेर उद्धारको पहल गरिरहनुभएको छ भने दार्चुला घर भएका उद्योग मन्त्री दिलेन्द्रप्रसाद बडूले गृहमन्त्री बालकृष्ण खाणलाई भेटर उद्धार कार्यका लागि अनुरोध गर्नुभएको छ । उद्धारका लागि पहल भइरहेको सङ्घ, प्रदेश र स्थानीय स्तरका नेताहरूले प्रतिक्रिया दिएका छन् । स्थानीयहरू समेत उद्धार कार्यमा खटिएका छन् । नदी, खोलाहरूले अहिले पनि कटान गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे