समानुपातिक तर्फको मतपत्र छपाइको काम आजबाट सुरु हुँदै



समानुपातिक तर्फको मतपत्र छपाइको काम आजबाट सुरु हुँदै

काठमाण्डौँ २५ भदौ । आगामी निर्वाचनका लागि समानुपातिक तर्फको मतपत्र छपाइको काम आजबाट सुरु हुँदैछ । निर्वाचन आयोगले ७ मध्ये चारवटा प्रदेशको प्रदेश सभा सदस्य समानुपातिक तर्फको मतपत्र आजबाट छाप्न सुरु गर्दैछ । आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलका अनुसार प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेश सभाको समानुपातिक तर्फका मतपत्र आजबाट छाप्न लागिएको हो।

बाँकी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मतपत्र पछिल्लो चरणमा छापिने उहाँले बताउनुभयो । चारवटा प्रदेशका लागि करिब एक करोड ३१ लाख मतपत्र छाप्ने आयोगले बताएको छ। आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा मतपत्र छाप्दै आएको छ। प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको समानुपातिक तर्फको नमुना मतपत्र छपाइ सकिए लगत्तै प्रदेश सभा सदस्यको समानुपातिक तर्फको मतपत्र छपाइ सुरु हुने आयोगले जनाएको छ । आयोगका अनुसार प्रतिनिधि र प्रदेश सभाको समानुपातिकतर्फ करिब २० लाख नमुना मतपत्र छापिने छन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे