गढवामा विपद प्रतिकार्यका लागि दक्ष जनशक्ति तयार गरिदै



गढवामा विपद प्रतिकार्यका लागि दक्ष जनशक्ति तयार गरिदै

शिबराज पन्थी, गढवा २४ कार्तिक ।
हातमा ग्लोबस, टाउकोमा हेलमेट, मुखमा मास्क र आँखामा सेफ्टी ग्लास तथा सेफ्टी सुजका साथ लाइफ ज्याकेटमा सजिएका कार्यक्रमका सहभागीहरु अग्नि सहायक यन्त्रको प्रयोग गरेर धमाधम दन्किरहेको आगो निभाउँदै थिए । उनीहरु नै कतै कमिला ताँतीबाट बाल्टिनमा पानी बोकेर आगलागी नियन्त्रण गरिरहेका थिए । कतै खोलामा बगेका र पानीमा डुबेकाहरुको उद्धार गरिदै थियो त कतै भूकम्पबाट भत्किएका संरचनामा पुरिएकाहरुको उद्धार गरिदै र प्राथमिक उपचार गरिदै थियो ।


तालिमकै सहभागिहरुद्धारा आफैले पुराना बोत्तलहरु जोडेर लाइफ ज्याकेट बनाउदै गरेको पाइन्थ्यो त कतै तिनै लाइफ ज्याकेट र डोरीहरुको प्रयोग गर्दै राप्ती नदीमा बगिरहेका मानिसहरुको खोज उद्धार गरिदै थियो । यो दृष्य हो देउखुरीको गढवामा पहिलो पटक आयोजना गरिएको बिपद् प्रतिकार्यको अन्तराष्ट्रिय लेभलको क्याड्रो तालिमको वास्तविकता ।


देउखुरीको गढवामा पहिलो पटक विपद प्रतिकार्यका लागि क्याड्रो तालिम सम्पन्न भएको छ । यो तालिम संगै युनिसेफ नेपाल र गढवा गाउँपालिकाको सहकार्यमा नवजागरण महिला तथा बालसंरक्षण केन्द्र (न्यूसिपिसी) तुलसीपुरले विपद प्रतिकार्यहरुमा काम गर्ने २५ जना दक्ष जनशक्ति तयार गरेको छ । तालिमको उद्घाटन गढवा गाउँपालिका बिपद् ब्यवस्थापनका फोकलपर्सन हेमराज आचार्यले गरेका थिए । भने समापन गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगीले गरेका थिए ।


तालिममा कोभिड–१९ तथा बाढी विपद प्रतिकार्यका लागि बिभिन्न प्रयोगात्मक अभ्यासहरु गरिएको न्यूसिपिसीका कार्यक्रम अधिकृत उमेश खरेलले जानकारी दिए । बिश्वका बिभिन्न राष्ट्रहरुमा सञ्चालन गरिने यो तालिम निकै कडाइको अनुशासित र मर्यादित ढंगले भएको सहभागी गढवा गाउँपालिका प्रधानमन्त्री रोजगार सेवा केन्द्रका संयोजक अशोक यादवले बताए । यो लिनैपर्ने तालिम रहेछ, लिएपछि मात्र महत्व बुझ्न सकियो–सहभागी बाबुराम भण्डारीले बताए ।

नवजागरण महिला तथा वाल संरक्षण केन्द्र तुलसीपुरले युनिसेफ नेपालको साझेदारीमा गढवा गाउँपालिकामा कोभिड–१९ र बाढी बिपद् पुर्वतयारी र प्रतिकार्यका बिभिन्न गतिविधिहरु संचालन गरिरहेको कार्यक्रमका अधिकृत उमेश खरेलले जानकारी दिए । चार दिन सम्म चलेको आधारभूत क्याड्रो तालिमको प्रशिक्षकमा रेडक्रसका तिर्थ पाण्डेय, सन्तोष ढकाल, सरोज अधिकारी देवि प्याकुरेल, सुजन बिक, रतन टमाटा लगायत रहेका थिए । उद्घाटन तथा समापन कार्यक्रमको सहजीकरण नेपाल रेडक्रस सोसाइटीका पुर्वसुचना प्रणाली संयोजक सन्तोष ढकालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे