केही ठाउँमा यस वर्ष निकै कम वर्षा, नजिकै ठूलो पानी पर्दा अर्को ठाउँमा भने खडेरी



केही ठाउँमा यस वर्ष निकै कम वर्षा, नजिकै ठूलो पानी पर्दा अर्को ठाउँमा भने खडेरी

काठमाण्डाै १५ भदाै । अबका केही दिन देशका धेरैजसो ठाउँमा पानी कम पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदरभन्दा केही उत्तरतर्फ रहे पनि पानी भने कम पर्ने देखिएको मौसमविद् राजु प्रधानाङ्गले बताए । अहिले मकवानपुरको गढी आसपासमा ठूलो पानी परिरहेकोले चेतावनी जारी भएको छ । बाँकी धेरै ठाउँमा सामान्य वर्षा तथा मौसम खुलेको छ ।

आज एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना भए पनि बाँकी ठाउँमा पानी पर्ने सम्भावना कम रहेको महाशाखाले जनाएको छ ।  यो समय मनसुन सक्रिय भएर धेरैजसो ठाउँमा वर्षा हुनुपर्ने भए पनि यस वर्ष त्यस्तो वर्षा नभएको मौसमविद् प्रधानाङ्गले बताए ।  पानी पर्दा पनि कुनै विशेष ठाउँमा ठूलो पानी पर्ने र त्यसको आसपासको ठाउँमा सुक्खा हुने गरेको उनको भनाइ छ ।

मधेस प्रदेश, कर्णाली, सुदूरपश्चिमका केही ठाउँमा यस वर्ष ज्यादै कम पानी परेको छ भने प्रदेश १, बाग्मती, गण्डकीका केही ठाउँमा निरन्तर ठूलो पानी परिरहेको छ । अघिल्ला वर्षहरूमा सामान्यतया सबैतिर एकैनासले मनसुन सक्रिय हुने गरेकोमा यो वर्ष कतै सुक्खा र कतै धेरै पानी परिरहेको मौसमविद् प्रधानाङ्गले बताए ।

यसका कारण केही ठाउँमा बाढी, पहिरोको जोखिम र केही ठाउँमा सुक्खाको चिन्ता बढेको छ । जलवायु परिवर्तनका कारण खण्डवृष्टिको जोखिम बढ्ने चेतावनीका बीच नेपालमा मनसुनी सक्रियता पनि त्यस्तै देखिन थालेको जलवायुविज्ञहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे