विश्वासिलो र भरपर्दो काम गर्न एमसिए नेपाललाई स्थानीयको सुझाब



विश्वासिलो र भरपर्दो काम गर्न एमसिए नेपाललाई स्थानीयको सुझाब

कालाकाटे (देउखुरी) ११ भदौ । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिती (एमसिए नेपाल) ले सञ्चालन गर्न थालेको सडक मर्मत आयोजना अन्तर्गत धानखोला-लमही सडक खण्ड मर्मत आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण (आईइीइी) सम्बन्धी सार्वजनिक सुनवाई कार्यक्रम आज देउखुरीको गढवा गाउँपालिका—१, कालाकाटेमा सम्पन्न भएका छन् ।

गढवा गाउँपालिका १ नम्बरका वडाध्यक्ष बाबुराम अधिकारीको अध्यक्षता एवम् गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यता भएको कार्यक्रममा स्थानीयहरुले योजना शुरू भएदेखि निर्माण सम्पन्न सम्मको ज्ञारेण्टी र मुआब्जाको व्यवस्था हुनुपर्ने माग गरेका छन् । उनीहरुले धानखोला देखि लमही सम्म सडक मर्मत भन्दा पनि फोरलेन सडक बनाउन माग गरेका छन् ।

कार्यक्रममा संरचना बनाउँदा कम क्षति हुने गरी वन व्यवस्थापन गर्दा त्यसको उपभोग उपभोक्ता समूहले गर्नुपर्ने माग राखेका छन् । उनीहरुले सडक छेउछाउमा धार्मिक संचरनाहरू पनि नभत्काउने गरी बनाउनु पर्ने, आयोजनाबाट बन्ने सडकको अवस्था र परियोजनाको स्थलगत काम शुरू भएपछि समयमै काम सम्पन्न गरिनुपर्ने, परियोजनाले स्थानीयलाई रोजगारको व्यवस्था गरिनु पर्ने माग गरेका छन् ।

उनीहरुले सडक निर्माण गर्दा धुलो नियन्त्रण गरिनुपर्ने, खानेपानीको पाइपहरू क्षति नहुने गरी काम गर्न आग्रह गरेका छन् । साथै उनीहरुले सडक मर्मत गर्दा हुने क्षतिको बिषयमा प्रतिवेदन आउनु पर्ने र सडक मर्मत तथा बिस्तार गर्दा घर भत्कियो भने त्यसको क्षतिपुर्ति र पुनरवासको व्यवस्था गरिनुपर्ने लगायतका माग राखेका थिए ।

कार्यक्रममा स्थानीय नागरिकबाट उठेका प्रश्नको जवाफ कार्यक्रमका परामर्शदाता डा. उत्तमसागर श्रेष्ठ र परियोजनाका सडक कार्यक्रम व्यवस्थापक देवबहादुर तामाङ्गले दिनु भएको थियो । कार्यक्रममा स्थानीय नगरिकहरु चन्द्र पुरी, प्रदिप मरासिनी, ढकबहादुर महतरा, माधव सापकोटा, धर्मराज पोख्रेल, भरत अधिकारी, अनिता गुरूङ्ग, सन्तोषकुमार योगी र भानु जिएम लगायतले विभिन्न जिज्ञासा राख्नुका साथै विभिन्न माग समेत राखेका थिए ।

कार्यक्रममा एमसिसीको प्रतिनिधि रमाकान्त शर्मा, वातावरण व्यवस्थापक श्याम उपाध्याय, वातावरण विशेषज्ञ प्रकाश बस्नेत र इन्जिनियर स्वंयता श्रेष्ठ र पत्रकार सन्तोषकुमार गुप्ता लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण आयोजनाका परामर्शदाता डा. उत्तमसागर श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे