दाङमा कुल ४ लाख १९ हजार ९ सय २४ मतदाता



दाङमा कुल ४ लाख १९ हजार ९ सय २४ मतदाता

दाङ – आगामी मंसिर ४ गते हुन लागेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा मतदान गर्ने मतदाताको संख्या दाङमा ४ लाख १९ हजार ९ सय २४ जना रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

दाङ जिल्लामा पुरूष भन्दा महिलाको संख्या धेरै रहेको छ । निर्वाचन कार्यालय दाङका अनुसार मंसिर ४ गतेको निर्वाचनमा सहभागी हुने मततादाहरूमा महिलाको संख्या २ लाख १३ हजार ४६८ र पुरूषको संख्या २ लाख ५ हजार ४१२ रहेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए ।

२०७४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन तहमा मतदाता संख्या ३ लाख ३८ हजार ९ सय ४३ थियो । निर्वाचन कार्यालयले सार्वजनिक गरेको मतदाता नामावली अनुसार पाँच वर्षको अवधिमा जिल्लाको मतदाता संख्या ८० हजार ९८१ जना थपिएका छन् ।

नौ हजार मतदाता थपिए
दाङमा पछिल्लो करिव साढे १ महिनामा ९ हजार मतदाता थपिएका छन् । ४९ दिनको अवधिमा दाङमा गरिएको मतदाता नामावली संकलन अभियानमा ४ हजार ४ सय ७३ महिला र ४ हजार ७ सय ४९ जना पुरूष गरी कुल ९ हजार २ सय २२ जना नयाँ मतदाता थपिएका कार्यालयका सूचना अधिकारी कँवरको भनाई छ ।

बैशाख ३० को स्थानीय तह निर्वाचनपछि जेठ १ गतेबाट सुचारू भएको मतदाता नामावली संकलन अभियान साउन १९ गतेसम्म चलेको थियो । यो समयमा जिल्लाभित्रको दर्ता संख्या ८ हजार ९ सय ८५ रहेको छ भने बाहिरी जिल्लाको दर्ता संख्या २ सय ३७ रहेको उनले बताए । जिल्लामा ४ हजार ३ सय ६९ जना महिला र ४ हजार ६ सय १६ जना पुरूष थपिएका छन् भने बाहिरी जिल्लाको दर्तामा महिलातर्फ १ सय ४ जना र पुरूषतर्फ १ सय ३३ जना थपिएका हुन् ।

४६१ मतदान केन्द्र
सरकारले दुई तहको निर्वाचन एकैसाथ गर्ने गरी समय तोकेको छ । दाङमा पनि यसको आन्तरिक तयारी तीव्र पारिएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । साउन १७ गते जिल्लामा रहेका मतदाता नामावलीको बिवरण निर्वाचन आयोगमा पठाइएको कार्यालयले जानकारी दिएको छ ।

कार्यालयले जिल्लास्थित राजनीतिक दल, दाङका दशवटै पालिका प्रमुख एवं अध्यक्ष, सुरक्षा निकाय प्रमुखसँग मतदान केन्द्र र मतदानस्थलको अवस्था तथा पुनरावलोकन बारेमा छलफल गरिसकेको छ । छलफलपछि निर्वाचन प्रयोजनका लागि यसअघि तोकिएका मतदानस्थल थप नगर्ने गरी केही अपायक ठाउँको विकल्प खोज्दै सबैको सहमतिमा फरक ठाउँमा मतदानस्थल तोकिएको कार्यालय सूचना अधिकारी कँवरले बताए ।

जिल्लाका ६ वटा पालिकाका १६ वटा मतदानस्थललाई अन्यत्र सार्ने निर्णय भएको छ । यसअघि गठित कार्यदलले गरेको सिफारिसका आधारमा गढवामा ४ वटा, घोराहीमा ३, तुलसीपुरमा १, बंगलाचुलीमा ५, राप्ती गाउँपालिकामा १ र शान्तिनगर गाउँपालिकामा २ गरी १६ मतदानस्थललाई पायक पर्ने ठाउँमा स्थानान्तर गरिएको छ । गत बैशाख ३० गते भएको स्थानीय निर्वाचनमा दाङमा १ सय ५३ मतदानस्थल र ४ सय ६१ मतदान केन्द्र तोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे