जीर्ण कारागारमा ३ गुणा बढी कैदी



जीर्ण कारागारमा ३ गुणा बढी कैदी

रौतहट २१ कात्तिक । रौतहटको गौरमा रहेको जिल्ला कारागारको अवस्था जीर्ण छ तर क्षमताभन्दा तीन गुणा बढी कैदी राखिएको छ । वि.स. १९८१ मा निर्माण भएको यो कारागारको क्षमता १ सय २० कैदी राख्न मिल्ने भएक पनि अहिले ३ सय ६० बन्दीहरु रहेका छन् ।

क्षमताभन्दा तीन गुणा बढी राखिएकोले आफूहरु त्रासले जीवन काटिरहेको गुनासो गर्दै कैदीबन्दीले सरकारको ध्यानाकर्षणसमेत गराएका छन् । गर्मीको बेला खादिएर सुत्न नसक्ने कैदीहरु वर्षा लागेपछि पानीमा रुझ्दै बस्न बाध्य हुन्छन् । हिउँदमा चिसोले कठ्याङ्ग्रिनु  पर्ने अवस्था रहेको उनीहरुको गुनासो छ ।

कारागार प्रशासनले जीर्ण भवनको बारेमा बारम्बार पत्राचार गरे पनि हालसम्म कुनै सुधार नभएको जनाएको छ । खिया लागेर भत्किएका झ्याल, ढोका र कैदी बन्दीको अत्याधिक चापले बस्न गाह्रो छ ।

९६ वर्ष पुरानो कारागारमा जुनसुकै बेला भवन भत्किएर क्षति हुनसक्ने अवस्थाका बीच कैद भुक्तान गरिरहेका कैदीहरुलाई कारागारभित्रै मरिन्छ की भन्ने चिन्ता बढेको छ ।

जीर्ण भवनका कारण कैदीहरुको व्यवस्थापन मात्रै नभएर सुरक्षाकर्मी र कर्मचारीको व्यवस्थापनमा पनि समस्या आएको गौर कारागारका अधिकृत शम्भुप्रसाद यादवले बताए ।

कारागारको अवस्थाको बारेमा सम्बन्धित निकायलाई जानकारी गराए पनि हालसम्म प्रगति नभएको बताउँदै अधिकृत यादवले कोरोना संक्रमणका बेला क्षमताभन्दा बढी कैदी हुँदा जोखिम थपिएको बताए ।

साभार – अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे