जसपा फुटाएर लोसपासँग एकीकरण गर्ने बाबुरामको तयारी



जसपा फुटाएर लोसपासँग एकीकरण गर्ने बाबुरामको तयारी

काठमाडौं २८ असार। सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा) फेरि विभाजन भएको छ । पार्टी विभाजनको औपचारिक घोषणा मंगलबार (आज) हुँदै छ । संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवबीच विवाद बढ्दै गएपछि पार्टी विभाजन भएको हो ।

भट्टराई र यादवले आपसी सहमतिमै पार्टी विभाजन गर्नेमा यसअघि नै सहमति गरिसकेका छन् । यसअघि महन्थ ठाकुर, राजेन्द्र महतोले जसपा विभाजन गरेर लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) गठन गरिसकेका छन्।

भट्टराईको नेतृत्वमा फेरि विभाजन हुन लागेको जसपा ठाकुर नेतृत्वको लोसपासँग पार्टी एकीकरण गर्ने रणनीति रहेको स्रोतले जनाएको छ । उपेन्द्रको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै बाबुरामले आफ्नो नेतृत्वमा नयाँ पार्टीको घोषणा गर्ने भएका छन् ।

मंगलबार र बुधबार (२८, २९ असार) मा भट्टराई समूहको केन्द्रीय समितिको विस्तारित बैठक काठमाडौंको जडीबुटीमा बस्दै छ । सोही बैठकबाट नयाँ पार्टीको घोषणा गरिनेछ । उता, उपेन्द्र समूहको केन्द्रीय समितिको विस्तारित बैठक बुधबार र बिहीबार (२९, ३० असार)मा वीरगन्जमा बस्दै छ ।

बाबुराम र उपेन्द्र समूहको छुटाछुटै केन्द्रीय समितिको बैठक बसेसँगै पार्टी स्पष्ट रूपमा विभाजन भएको हो । बाबुराम समूहले केन्द्रीय समिति बैठकको एजेन्डासमेत तय गरेको छ । बैठकमा संघीय परिषद् अध्यक्ष बाबुरामले समसामयिक राजनीतिक विषयमा राजनीतिक प्रतिवेदन पेस गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे