प्रदेश सरकार र एमालेबीच ४ बुँदे सहमति, कर्णालीकाे बैठक सुरु
सुर्खेत २४ असार । प्रदेश सरकार र प्रमुख प्रतिपक्ष दल एमालेबीच चार बुँदे सहमतिपछि कर्णालीकाे बैठक सुरु भएको छ । आज शुक्रवार सभामुख राजबहादुर शाहीको नेतृत्वमा बसेको सर्वदलीय बैठकले अवराेध गरिएकाे प्रदेश सभा बैठक खुलाउन विभिन्न निर्णय गरेको हो ।
एमालेले बजेटमाथि असन्तुष्टि जनाउँदै असार १२ गतेदेखि प्रदेश सभा बैठक अवराेध गरेको थियो । सर्वदलीय बैठकमा सरकार र प्रतिपक्षबीच सहमति भएपछि बैठक सुरु भएको हो ।
सरकारले मुख्यमन्त्री रोजगारको सम्बन्धमा प्रस्तावित योजनाहरू एकमुस्ट फिर्ता लिने र विनियोजन भएको रकम यथावत् राखी साउन मसान्तसम्म कार्यविधिसम्मत योजनाहरू छनोट गर्ने, विनियोजन किताबमा प्रदेशबाहिरका भौगोलिक क्षेत्रलाई समेटेर समावेश भएका सबै योजना हटाउने उल्लेख गरिएको छ ।
यस्तै निर्वाचन क्षेत्र पूर्वाधार विकास विशेष कार्यक्रमको सम्बन्धमा रिक्त रहेका निर्वाचन क्षेत्रमा सभामा प्रतिनिधित्व गर्ने दलहरूको सहमतिमा योजना छनोट गर्ने गरी कार्यविधि संशोधन गर्ने र १५ लाख रुपैयाँभन्दा कम रकम विनियोजन गरिएका योजनाहरूको हकमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको साना सिँचाइबाहेकका अन्य नयाँ योजनाहरू कार्यान्वयन नगर्ने पनि सहमति भएको छ ।