आज राति देशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना, विशेष सावधानी अपनाउन आग्रह



आज राति देशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना, विशेष सावधानी अपनाउन आग्रह

काठमाण्डाै २४ असार । आज राति देशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले विशेष सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । मौसमविद्ले आउँदाे २४ घण्टाका लागि चेतावनी तथा परामर्श सूचना निकाल्दै सावधानी अपनाउन आग्रह गरेका हुन् ।

मौसमविद् सजिना शाक्यका अनुसार राति प्रदेश-१, मधेस प्रदेश, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।राति लगातारजसो झरी पर्ने नै अनुमान गरिएको छ ।

यसले गर्दा पहाडी क्षेत्रमा बाढी, पहिरो र तराईमा डुबानको जोखिम रहेको  उनले बताइन् । भोलि पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षा हुने सम्भावना छ । मनसुन थप सक्रिय हुने भएकाले आज रातिदेखि धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको हो ।

मनसुनी न्यून चापीय रेखा अहिले पश्चिमी भू–भागबाट उत्तरतिर सर्दै गरेकाले पश्चिमी क्षेत्रमा धेरै पानी पर्ने अनुमान रहेको मौसमविद्ले बताएका छन् । यस्तै, आज दिउँसो पनि केही ठाउँमा पानी पर्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे