सिसहनियाँमा महिलाहरूको पाठेघर तथा प्रजनन सम्बन्धी स्वास्थ्य परिक्षण, स्थानीय खुसी



सिसहनियाँमा महिलाहरूको पाठेघर तथा प्रजनन सम्बन्धी स्वास्थ्य परिक्षण, स्थानीय खुसी

सिसहनियाँ ११ असार । लमही नगरपालिका २ बनकट्टा निवासी संगिता चाैधरी २० वर्षकी भइन् । उनी विवाहित युवती हुन् । विवाह भए देखि अहिले सम्म उनको बच्चा जन्मिएको छैन् ।

महिनावारीमा पनि समस्या आइरहन्छ । गरिव परिवारकी उनी गतिलो अस्पतालमा गएर उपचार गराउने पैसा पनि छैन् । पैसा नहुँदा उनले उपचार गराउन पनि पाएकी छैनन् ।

शनिबार दाङको राप्ती गाउँ पालिका वडा नम्बर ५ मा रहेको सिसहनियाँ स्वास्थ्य चाैकीमा महिलाहरूका लागि निशुल्क पाठेघर तथा प्रजनन् स्वास्थ्य परिक्षण शिविर सञ्चालन भएको सुनेर उपचार गराउन पुगेकी संगिता निकै खुसी भइन् ।

राप्ती गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा स्वास्थ्य परिक्षण शिविर सञ्चालन भएको हो ।

नजिकैको स्वास्थ्य संस्थामा सञ्चालन भएको  स्वास्थ्य शिविरमा सेवा लिन पाउँदा संगिता मात्र होइन त्यहाँ सेवा लिन आएका सवै महिला दिदीबहिनीहरू निकै खुसी भएका थिए ।

गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षता एवम् वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. राजेन्द्र प्रसाद बस्यालको प्रमुख आतिथ्यतामा शिविर उद्घाटन गरिएको थियो ।

शिविर उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बस्यालले अहिले पनि समाजमा लाज हुने डरले रोग लुकाएर बस्ने परिपाटीको अन्त्य नभएकोले त्यस तर्फ नागरिकहरूलाई सचेत गराउन आवश्यक रहेको र समयमा स्वास्थ्य परिक्षण गराउन महिलाहरूलाई सुझाव दिएका थिए ।

त्यस्तै कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले राप्ती गाउँपालिकामा कोही पनि नागरिकहरू स्वास्थ्य उपचार गराउन नसकेर अकालमा ज्यान गुमाउन नपरोस् भन्नका लागि यस आर्थिक वर्ष२०७९/८० का लागि स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने काम भएको बताएका छन् ।

मानिस स्वस्थ रहे मात्र विकास निर्माण गर्न सकिने भएकाले विकास निर्माणका काम भन्दा स्वास्थ्य, शिक्षा र कृषिलाई बढी प्राथमिकता दिएको बताएका छन् । शिविरमा स्त्री रोग सम्बन्धि जाँच तथा उपचार, भिडियो एक्सरे, प्याथोलोजी सेवा प्रदान गरिएको थियोे ।

शिविरमा ८० जनाले स्वास्थ्य परिक्षण गराएका थिए भने शिविरमा वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. राजेन्द्र प्रसाद बस्याल, स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. सरिता शर्मा, प्याथोलोजिष्ट डा. बविता थापा, रेडियोलोजिष्ट डा. बोम बिसी र मेडिकल अधिकृत डा. पुष्प भुसालले सेवा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे