राप्तीमा बजेटको तयारी नपुगेको भन्दै उपाध्यक्षद्वारा बजेट प्रस्तुत गर्न अस्वीकार 



राप्तीमा बजेटको तयारी नपुगेको भन्दै उपाध्यक्षद्वारा बजेट प्रस्तुत गर्न अस्वीकार 

भालुवाङ १० असार । दाङको राप्ती गाउँपालिकामा बजेटको तयारी नपुगेको भन्दै उपाध्यक्ष कमलापती चाैधरीले बजेट प्रस्तुत गर्न अस्वीकार गरेकी छिन् ।

शुक्रबार बेलुका ६ बजे बसेको लाइभ बैठकमा उपाध्यक्ष चाैधरीले विषयगत समितिको बैठक नबसी बजेट प्रस्तुत गर्न नसकिने बताएकी छिन् । भने केही वडा अध्यक्षहरूले पनि वडामा बजेट सिलिङ कम भएको भन्दै असन्तुष्टि जनाउँदै कार्यपालिका बैठकको उपस्थितिमा हस्ताक्षर समेत नगरि बाहिरिएका छन् । गाउँपालिका अध्यक्ष प्रकाश विष्टले शिक्षा, स्वास्थ्य र कृषिमा बढी बजेट विनियोजन गर्नु परेकोले वडा तहमा केही बजेट कटाैती गर्नु परेको बताएका छन् ।

केही वडा अध्यक्ष तथा सदस्यहरूले शिक्षा, स्वास्थ्यमा बजेट हाल्न नचाहेकोले कार्यपालिका बैठक सर्वसहमतीले पारित हुन नसकेको हो । वडा अध्यक्षहरूले न्युनतम ९० लाख देखि १ करोड सम्मको बजेट माग गरेका छन् ।

बैठकमा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरी, वडा नम्बर १ का वडा अध्यक्ष गेमबहादुर खड्का, वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चाैधरी, वडा नम्बर ६ का वडा अध्यक्ष दिपककुमार चाैधरी, वडा नम्बर ७ का वडा अध्यक्ष सिताराम चाैधरी, वडा नम्बर ८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरूङ लगायतले हस्ताक्षर गरेका छैन् ।

विरोधका कारण शुक्रबार ४ बजे आउने भनेको बजेट अहिले सम्म आउन सकेको छैन् । दोस्रो चरणको कार्यपालिका  बैठक बस्न नसक्दा बजेट प्रस्तुत अन्याैलमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे