राप्ती गाउँपालिकाका निर्वतमान जनप्रतिनीधिहरुलाई मायाको चिनो दिएर बिदाई
भालुवाङ ६ असार । राप्ती गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष प्रकाश विष्ट र उपाध्यक्ष कमलापती चौधरीले निर्वतमान जनप्रतिनिधीहरुलाई खाँदा ओढाएर मायाको चिनो दिदै बिदाई गरेका छन् । सोमवार गाउँपालिकाको कार्यालय मसुरीयामा गाउँपालिकाको दोस्रो गाउँसभाको पहिलो अधिवेशनमा निर्वतमान अध्यक्ष नुमानन्द सुवेदी सहित ९ वटै वडाका अध्यक्ष, सदस्य र कार्यपालिका सदस्यहरुलाई खाँदा ओढाएर मायाको चिनो समेत दिएर बिदाई गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा भएको कार्यक्रममा बिदाई भएका जान लागेको निर्वतमान अध्यक्ष नुमानन्द सुवेदीले आफ्नो ५ वर्षे कार्यकाल सफलता पुर्वक बितेको र त्यस बीचमा आफुले निर्वाचनका बेला बाँचा गरेका अधिकाशंक काम पुरा गरेको र सहकर्मी वडा जनप्रतिनिधी र जनताबाट समेत ठुलो सहयोग मिलेको बताएका थिए ।
त्यस्तै उनले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई आवश्यक परेको खण्डमा हर बखत साथ र सहयोग गर्न तयार रहेको बताएका थिए ।
त्यस्तै नवनिर्वाचित अध्यक्ष विष्टले निर्वतमान अध्यक्ष सुवेदी र अन्य जनप्रतिनिधीहरुको साथ र सहयोग आफुलाई चाहिने बताएका छन् । आफुले गर्ने काममा तपाईहरुकै सल्लाह सुझाव अनुसार अगाडी बढ्ने उनले बताएका छन् । कार्यक्रमको सञ्चालन गाउँपालिकाका सुचना अधिकारी विश्वास विकले गरेका थिए ।