लुम्बिनी प्रदेशको मन्त्रालयगत बजेटमाथिको छलफल शुरू



लुम्बिनी प्रदेशको मन्त्रालयगत बजेटमाथिको छलफल शुरू

बुटवल ३ असार । लुम्बिनी प्रदेशसभामा सरकारका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले बुधवार पेश गरेको आगामी वर्षको बजेटमाथि छलफल सुरु भएको छ । मन्त्री खड्काले बुधबार नै पेस गरेको सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकमाथिको छलफल सुरु भएको हो ।

आजको छलफलमा प्रतिपक्षले बजेटको आलोचना गरेको छ । सत्ता पक्षले भने बजेट सकारात्मक र परिणाममुखी भनेको छ । प्रदेशसभा सदस्य रमा अर्यालले बजेटमा सरकारले आफ्नो आम्दानीको स्रोत वृद्धि गर्ने गरी सकारात्मक प्रयास गरेको बताउनुुभयो ।

मन्त्री खड्काले आगामी आव २०७९/०८० को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्न र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा आज नै पेस गर्नुभएको छ । विधेयकमाथिको छलफलको प्रस्ताव पनि बैठकले पारित गरेको छ । बजेटमाथिको दफावार र मन्त्रालयगत छलफल अर्को शुक्रबारदेखि हुने छ । सभामुख पूर्णबहादुर घर्तीले बजेटमाथिको मन्त्रालयगत अर्को शुक्रबारदेखि सुरु हुने प्रदेशसभा बैठकलाई जानकारी गराउनुुभएको छ ।

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । बजेटले स्थायी राजधानी निर्माण, कृषि, शिक्षा, स्वास्थ्य र सिंचाइ एवं ऊर्जा क्षेत्रलाई प्राथमिकता दिएको छ । सरकारले आगामी वर्षका लागि पुँजीगततर्फ २४ अर्ब ४७ करोड ७० लाख र चालुतर्फ १३ अर्ब ३२ करोड ७६ लाख रुपैयाँ विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे