काठमाडौंमा ‘हनी ट्रयाप’मा पार्ने गिरोह समातियो, असुलीका लागि यसरी खडा गरिन्थ्यो ‘वकिल र पत्रकार’



काठमाडौंमा ‘हनी ट्रयाप’मा पार्ने गिरोह समातियो, असुलीका लागि यसरी खडा गरिन्थ्यो ‘वकिल र पत्रकार’

काठमाडौं ३ असार । युवतीहरुलाई प्रयोग गरेर ब्ल्याकमेल गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले काठमाडौंका विभिन्न स्थानमा अपराधिक लाभ लिने उद्देश्यले युवतीको प्रयोग गरी ब्ल्याकमेल गर्ने गिरोहलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सूर्यविनायक–९ भक्तपुरकी १९ वर्षीय निकिता केसी, ढुसेनी–३, काभ्रपलाञ्चोककी १८ वर्षीय मनिषा परियार, हलेसी–७, खोटाङका ३२ वर्षीय डिकबहादुर शर्मा, इटहरी–७, सुनसरीका ३० वर्षीय सञ्जिब दर्जी, मेलुङ–५, दोलखाका २५ वर्षीय निमा लामा र ३० वर्षीय पासाङ लामा रहेका छन ।

उपत्यका अपराध अनुसन्धान कार्यालय कार्यालयका प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद कोइरालाका अनुसार अभियुक्तहरुले सामाजिक सञ्जालको माध्यमबाट आफ्नो धन्दा अघि बढाउने क्रममा नक्कली परिवारका सदस्यदेखि नक्कली वकिल र नक्कली पत्रकारसमेत खडा गर्ने गरेका थिए ।

प्रहरीका अनुसार सुरुमा उनीहरुले युवतीको प्रयोग गरेर पुरुषहरुलाई खाजा खाने बहानामा रेष्टुरेन्टमा लगेर भेटघाट गर्ने गराउने गरेका थिए । त्यसपछि ती व्यक्तिहरुको घर, कार्यालय तथा सवारीसाधन लगायतका सम्पूर्ण विवरण राख्ने र सवै नक्कली पात्र खडा गरेर ब्याकमेल गर्ने गरेको पाइएको छ ।
युवतीको माध्यमबाट भेटघाट गर्ने, सबै विवरण संकलन गरेर झुठ्ठा मुद्दा लगाएर फसाइदिने भन्दै डर, धम्की तथा त्रास देखाएर मोलमोलाई गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । एसपी कोइरालाका अनुसार उनीहरुले आफूहरुले मागेजति रकम दिन बाध्य पार्न केटीको नक्कली पारिवारिक सदस्य, वकिल तथा पत्रकार खडा गरेर मोलमोलाई गर्ने गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे