राप्ती गाउँपालिकाले हावाहुरीबाट घरबार विहिन परिवारलाई १० हजार राहत दिने



राप्ती गाउँपालिकाले हावाहुरीबाट घरबार विहिन परिवारलाई १० हजार राहत दिने

भालुवाङ २ असार । राप्ती गाउँपालिकाको विपद व्यवस्थापन समितिको बैठक बिहीबार गाउँपालिकाको कार्यालय मसुरीयामा सम्पन्न भएको छ ।

समितिका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा बसेको बैठकले गत जेठमा आएको हावाहुरीबाट प्रभावित परिवारलाई घरमा पुगेको क्षतिका आधारमा राहत उपलब्ध गराउने निर्णय गरेको छ । आर्थिक वर्ष २०७८/७९ को स्वीकृत बजेट तथा कार्यक्रममा रहेको विपद् व्यवस्थापन शीर्षकको बजेटलाई प्रकोप व्यवस्थापन कोष मार्फत राहत वितरण गर्ने गरी प्रहरी मुचुल्का र सम्बन्धित वडा कार्यालयको सिफारिसको आधारमा क्षतिलाई ३ आधारमा वर्गीकरण गरी राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

जसमा पूर्णरुपमा क्षति भई घरवार विहिन भएका आर्थिक रुपमा विपन्न प्रति परिवार १० हजार रूपैयाँ, घरमा आंशिक तथा सामान्य क्षति भएका आर्थिक रुपले विपन्न प्रति परिवार ५ हजार रूपैयाँ राहत उपलब्ध गराउने भएको छ ।

त्यस्तै बैठकले हावाहुरीकै कारण क्षति पुगेका सार्वजनिक विद्यालयहरु दुर्गावभानी आधारभूत विद्यालय मसुरिया, ज्ञानोदय मावि पथ्थरगढवा र जनता प्रावि खुरुरियाको क्षतिका विषयमा क्षति तथा सम्भावित जोखिमलाई मध्येनजर गरी प्रहरी मुचुल्का र सम्बन्धित वडा कार्यालयको सिफारिस तथा प्राविधिक स्टमेट समेतका आधारमा विपद् व्यवस्थापन कोष तथा मर्मत सम्भार शीर्षकमा रहेको बजेटबाट राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

त्यसै गरि बैठकले राप्ती गाउँपालिकाको कार्यालय र दाङ सूचना तथा सञ्चार केन्द्र बीचको सम्झौता बमोजिम निर्माण प्रक्रियामा रहेको स्थानीय विपद् जोखिम व्यवस्थापन योजना तर्जुमाका विषयमा प्रारम्भिक प्रस्तुतिकरण र यथाशिघ्र काम सम्पन्न गर्ने गरी आवश्यक सुधारका विषयमा छलफल गरेको छ ।

त्यस्तै बैठकले राप्ती गाउँपालिकाको फोहोर व्यवस्थापन कार्यविधि निर्माणका विषयमा राप्ती गाउँपालिकाको कार्यालय र स्रोत व्यवस्थापन प्रणाली स्याङ्जा वालिङ बीच भएको सम्झौता बमोजिम सेवा प्रदायक मानव स्रोत व्यवस्थापन प्रणालीले तयार गरेको फोहोरको दीगो व्यवस्थापन कार्यविधिको मस्यौदाको प्रस्तुतीकरण र आवश्यक सुधारका विषयमा छलफल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे