पालिका चुनाव–२०७९ – देशभर चार सय पालिकाको मत परिणाम : कुन दलले कति पालिका जिते (हेर्नुहाेस्)



पालिका चुनाव–२०७९ – देशभर चार सय पालिकाको मत परिणाम : कुन दलले कति पालिका जिते (हेर्नुहाेस्)

काठमाण्डाै ४ जेठ । पालिका चुनाव–२०७९ अन्तर्गत अहिलेसम्म चार सय पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । ९१ वटा नगरपालिका र तीन सय ९ वटा गाउँपालिका गरी चार सय वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ ।

कांग्रेस :

सार्वजनिक मत परिणाम अनुसार पहिलो स्थानमा रहेको नेपाली कांग्रेसले अहिलेसम्म ५१ वटा नगरपालिका र एक सय ३६ वटा गाउँपालिका गरी एक सय ८७ वटा पालिकाको प्रमुख पदमा जित हासिल गरेको छ ।

यस्तै कांग्रेसले ४२ वटा नगरपालिकाको उपमेयर, एक सय ३४ वटा गाउँपालिकाको उपाध्यक्ष गरी १ सय ७६ ठाउँमा उपप्रमुख तथा उपाध्यक्ष जितेको छ । नेपाली कांग्रेसले एक हजार ८ सय ८८ वटा वडाध्यक्ष पद जितेको छ ।

एमाले :

दोस्रो स्थानमा रहेको नेकपा एमालेले २६ वटा नगरपालिका र ८८ वटा गाउँपालिका गरी ११४ वटा पालिकाको प्रमुख पद जितेको छ।

यस्तै एमालेले ३० वटा नगरपालिकाको उपमेयर र ८५ वटा पालिकाको उपाध्यक्ष गरी ११५ वटा पालिकामा उपप्रमुख/उपाध्यक्ष जितेको छ । एमालेले एक हजार ४ सय ७३ वटा वडाध्यक्ष पदमा जित हासिल गरेको छ ।

माओवादी केन्द्र :

पालिका चुनावको अहिलेसम्मको मतपरिणाममा माओवादी केन्द्र तेस्रो स्थानमा छ । माओवादी केन्द्रले अहिलेसम्म ९ वटा नगरपालिका र ६९ वटा गाउँपालिका गरी ७८ वटा पालिकाको प्रमुख पद जितेको छ ।

यस्तै माओवादीले १४ वटा नगरपालिकाको उपमेयर, ७२ वटा गाउँपालिकाको उपाध्यक्ष गरी ८६ ठाउँमा जितेको छ । माओवादीले सात सय ९५ वटा वडाध्यक्ष पदमा जित निकालेको छ।

नेकपा (एकीकृत समाजवादी) :

नेकपा एकीकृत समाजवादीले एउटा नगरपालिका मेयर, चार वटा गाउँपालिकामा अध्यक्ष, तीन वटा नगरपालिकाको उपमेयर र ९ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ ।

जसपा/अन्य :

जनता समाजवादी पार्टीले पनि ५ वटा गाउँपालिकाको अध्यक्ष पदमा जित निकालेको छ । यस्तै राष्ट्रिय जनमोर्चाले दुई वटा पालिका  बाग्लुङको बरेङ र अर्घाखाँचीको भूमिकास्थानमा जितेकाे छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि दुई वटा पालिका काठमाण्डाैकाे शङ्खरापुर र झापाकाे हल्दीबारी जितेको छ । यस्तै अरु दल र स्वतन्त्र गरी ७ वटा पालिकामा प्रमुख विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे