दाङको राप्तीमा सामुहिक धान रोपेर मनाइयो राष्ट्रिय धान दिवस (फोटो फिचर)



दाङको राप्तीमा सामुहिक धान रोपेर मनाइयो राष्ट्रिय धान दिवस (फोटो फिचर)

भालुवाङ १५ असार । दाङको राप्ती गाउँपालिकामा सामुहिक धान रोपेर राष्ट्रिय धान दिवस मनाइएको छ ।

जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारा सहित आज राप्ती गाउँपालिका कृषि शाखाको आर्थिक सहयोगमा जय गुरुबाबा कृषि सहकारी संस्थाको आयोजना तथा राप्ती प्रेस मञ्चको सहकार्यमा २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको हो । राप्ती गाउँपालिका–७, छोट्की सिसहनियाँ स्थित कृषक राम औतार चौधरीको १० कठ्ठा जग्गामा सामूहिक धान रोपाइँ गरिएको हो। राप्ती गाउँपालिकाले प्रत्येक वर्ष कृषकहरूको खेतमै पुगेर यस दिवसलाई उत्सवका रूपमा मनाउँदै आएको छ । गाउँपालिकाका कृषि शाखा प्रमुख बरसाती गडरियाले यस पटक पनि कृषक सहकारी संस्था सँग सहकार्य गरेर दिवस मनाएको जानकारी दिनु भएको छ ।

संस्थाका उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिका गाउँकार्यपालिका सदस्य रणबहादुर पुजालीको प्रमुख आतिथ्यतामा दिवस मनाइएको हो । कार्यक्रममा कृषि शाखा प्रमुख बरसाती गडरिया, राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन कुमार अधिकारी, महासचिव ओमप्रकाश गुप्ता, सल्लाहकार तुलबहादुर कवर मगर, रमेश पन्थी तथा सहकारीका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो। सामूहिक रोपाइँ मार्फत धान खेतीको महत्व उजागर गर्दै कृषि उत्पादन वृद्धि र परम्परागत कृषि संस्कृतिको संरक्षणमा टेवा पुर्‍याउने उद्देश्य राखिएको आयोजकले जनाएको छ। राष्ट्रिय धान दिवसको अवसरमा आयोजित उक्त कार्यक्रमले कृषिप्रति आकर्षण बढाउनुका साथै किसानहरूबीच आपसी सहकार्य र एकताको सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे