नेपाल प्रवेश गरेको १२ औँ दिनमा मनसुन देशभर फैलियो : केही ठाउँमा ३ दिन ठूलो पानी पर्ने सम्भावना



नेपाल प्रवेश गरेको १२ औँ दिनमा मनसुन देशभर फैलियो : केही ठाउँमा ३ दिन ठूलो पानी पर्ने सम्भावना

काठमाण्डाै १६ असार । यही असार ५ गते पूर्वी भू–भागबाट प्रवेश गरेको मनसुन आजदेखि देशभर फैलिएको छ । औसत मिति जुन १३ तारिखभन्दा ६ दिन ढिला गरी नेपाल प्रवेश गरेको मनसुन देशभर फैलन १२ दिन लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मनसुन कोशी प्रदेशको पूर्व भू–भागबाट नेपाल प्रवेश गरेकोमा त्यसको चोथै दिन असार ८ गते कोशी, मधेश र बागमती प्रदेशको सबै भू–भाग हुँदै गण्डकी प्रदेशको केही र लुम्बिनी प्रदशेको पूर्वी भू–भागको थोरै ठाउँसम्म फैलिएको थियो । सामान्यतया मनसुन नेपाल प्रवेश गरेपछि देशभर फैलिन १ हप्ता लाग्ने गरेकोमा यस वर्ष गण्डकी र लुम्बिनी प्रदेशको केही भागमा पुगेपछि केही थप समय रोकिएको हो । अब भने देशका सबै भू–भागबाट पश्चिमी वायुको प्रभाव हटेर मनसुनको प्रभाव शुरू भएको छ । नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ तारिख अर्थात् असोजको तेस्रो हप्ता हो ।

यसै बीच आज, भोली र पर्सी देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघ गर्जन वा चट्याङसहित मुसलधारे वर्षाको सम्भावना छ । थोरै ठाउँमा आरीघोप्टे वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै पर्सि पनि पहाडी भेगका एक, दुई ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वी तथा पश्चिम तराईमा अलि बढी सावधानी अपनाउन अनुरोध गरेको छ । प्राधिकरणका अनुसार अबका केही दिन अकस्मात् बाढी, पहिरो, कटान, गेग्रान बहाव, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहन्छ । प्राधिकरणले वर्षा र बाढीबारे जानकारी लिन ११५५, विपदमा मद्दत माग्न ११४९, नेपाल प्रहरी १०० र सशस्त्र प्रहरी बल नेपालको १११४ हटलाइन नम्बरमा आवश्यक परेको अवस्थामा तत्काल फोन गर्न पनि आग्रह गरेको छ । यसपालि नेपालमा मनसुन जुन १९ तारिख अर्थात् असार ५ गते भित्रिएको हो । तर अझैसम्म पुरै देशभर फैलिएको छैन । औसत मितिभन्दा ६ दिनपछि भित्रिएको मनसुन प्रणालीले पर्याप्त वर्षा गराउन नसकेको बेला मुसलधारे वर्षा हुन लागेको र आवश्यक सावधानी अपनाउन सम्बन्धित निकायले सूचित गरेका छन् । मनसुन बाँकी भागमा पनि फैलिने क्रममा छ । यस्तो बेला ठुलो वर्षासँगै कतैकतै अचानक बाढी आउन सक्ने सम्भावना पनि भएकाले सतर्क रहन आग्रह गरेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे