गुल्मीको धुर्कोट गाउँपालिका बालमैत्री घोषणाको तयारीमा : प्रदेश अनुगमन समितिले निरिक्षण गर्ने



गुल्मीको धुर्कोट गाउँपालिका बालमैत्री घोषणाको तयारीमा : प्रदेश अनुगमन समितिले निरिक्षण गर्ने

भालुवाङ १६ असार । लुम्बिनी प्रदेशको गुल्मी जिल्ला स्थित धुर्कोट गाउँपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्न प्रदेश अनुगमन समितिले निरिक्षण गर्ने भएको छ ।

प्रदेशस्तरीय अनुगमन समितिको मंगलबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो । गाउँपालिकाबाट बालमैत्री स्थानीय शासनको सवै सुचक तथा मापदण्ड पूरा गरि प्रदेश अनुगमन समितिलाई बालमैत्री पालिका घोषणाका लागि अनुगमन गरि अनुमति माग गर्न पत्रचार भई आएको बैठकमा जानकारी गराइएको थियोे । सो गाउँपालिका र अन्तर्गतका ७ वटा वडाहरुमा बालमैत्री स्थानीय शासन घोषणाका लागि ५१ वटै सूचकहरु पूरा भई जिल्ला समन्वय समितिबाट अनुगमन समेत भई गाउँपालिकाका सबै वडाहरु बालमैत्री स्थानीय शासनयुक्त वडाहरु घोषणा भई घोषणाको अन्तिम प्रतिवेदन समेत प्राप्त भएको र त्यहाँबाट अनुगमन गरी बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि, २०७९ को दफा २९ को उपदफा (३) बमोजिम अनुमति प्रदान गरिदिनुहुन” भनी अनुरोध भई आएको छ । उक्त पत्र बमोजिम प्रदेश स्तरीय अनुगमन समितिले बालमैत्री स्थानीय शासन घोषणाका सन्दर्भमा उक्त गाउँपालिकामा पुगी कार्यविधिमा उल्लेखित आधार तथा ध्यान दिनुपर्ने मुख्य विषयहरुका सम्बन्धमा यकीन गरी सिफारिस सहितको प्रतिवेदन पेश गर्न प्रदेश स्तरीय अनुगमन टोली समेत गठन गरि खटाउने निर्णय गरेको छ ।

अनुगन टोलीमा सामाजिक विकास मन्त्रालयकी उपसचिव हरिकला सारु मगर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को, स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य प्रशासक उमेश गौतम, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका वरिष्ठ शाखा अधिकृत दुर्गाप्रसाद खत्री, प्रदेश योजना आयोगका शाखा अधिकृत हरिप्रसाद पन्थी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य ओमप्रकाश गुप्ता, पिस नेपालका योगेन्द्र बुढा र प्रदेश स्तरीय बाल सञ्जालका प्रतिनिधि प्रयास पाण्डे रहेका छन् ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद अर्यालको अध्यक्षतामा बसेको बैठकमा प्रदेश योजना आयोगका सचिव खिमबहादुर कुवर, सामाजिक विकास मन्त्रालयकी उपसचिव हरिकला सारु मगर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव मैयाँदेवी कुमाल, स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य प्रशाशक उमेश गौतम, लुम्बिनी प्रदेश योजना आयोगका शाखा अधिकृत हरिप्रसाद पन्थी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य ओमप्रकाश गुप्ता, पिस नेपालका योगेन्द्र बुढा लगायतको उपस्थिति रहेको थियोे । बैठकको सहजीकरण मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका वरिष्ठ शाखा अधिकृत दुर्गाप्रसाद खत्रीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे