आचारसंहिता उल्लङ्घन गर्नेलाई कारबाही गर्न १९ वटा उच्चस्तरीय टोली गठन



आचारसंहिता उल्लङ्घन गर्नेलाई कारबाही गर्न १९ वटा उच्चस्तरीय टोली गठन

काठमाण्डाै २७ बैशाख । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गर्नेलाई तत्काल कारबाही गर्न १९ वटा उच्चस्तरीय टोली गठन गरेको जनाएको छ । आयोगले आज मङ्गलवार पत्रकार सम्मेलनमार्फत आचारसंहिता उल्लङ्घन गर्नेलाई तत्काल कारबाही गर्न सक्ने अधिकारसमेत दिइ विभिन्न १९ वटा उच्चस्तरीय टोली गठन गरेको जनाएको हो ।

पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले तुलनात्मक रूपमा संवेदनशील ठाउँहरूमा टोली परिचालन गरेको जानकारी दिए ।  टोलीले चुनावलाई  असर नपर्ने गरी भिडियो छायाङ्कन गर्न सक्ने र मौन अवधिमा आमसभा, कार्यशाला गोष्ठी, सम्मेलन, भोज भतेर, पैसा बाँड्ने काम भए/नभएको र सामाजिक सञ्जालमा मिथ्या सूचना र द्वेषपूर्ण अभिव्यक्ति दिने काम भए/नभएको अनुगमन गर्ने बताए । यस्ता गतिविधि भएको पाइएमा तत्काल कारबाही गरेर आयोगलाई जानकारी गराउने अधिकार दिइएको उनले बताए ।

यसैबीच आउँदाे शुक्रवार हुने पालिका चुनावको तयारी लगभग पूरा भएको आयोगले जनाएको छ । पालिका चुनावका लागि एक लाख नौ हजार ८८ जना कर्मचारी खटिने भएका छन् । विगतमा मौन अवधिको समयमा धेरै आचारसंहिता उल्लङ्घनका घटना हुने गरेका भन्दै चुनावलाई भयरहित, स्वतन्त्र र पारदर्शी ढङ्गबाट सम्पन्न गर्ने र चुनावमा आम नागरिकको सहभागिता सुनिश्चित गर्ने दायित्व सबैको भएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे