निर्वाचनमा कसैले गुण्डागर्दी र धाँधली गरे प्रतिवाद गर्न कार्यकर्तालाई ओलीको निर्देशन



निर्वाचनमा कसैले गुण्डागर्दी र धाँधली गरे प्रतिवाद गर्न कार्यकर्तालाई ओलीको निर्देशन

काठमाडौं २७ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा गुण्डागर्दी र धाँधली नगर्ने तर कसैले गरे त्यसको प्रतिवाद गर्ने बताएका छन् । मंगलबार काठमाडौंमा गरेको अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले स्थानीय तह निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन सहयोग गर्ने दावी पनि गरे ।

‘नेकपा एमाले गुण्डागर्दी र धाँधली गर्दैन । निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन सहयोग गर्छ । कसैले त्यस्तो काम गर्छ भने नेकपा एमाले दृढतापूर्वक उभिन्छ’, ओलीको भनाइ छ । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले देशभर एमालेको लहर चलेको र जनता सूर्यलाई मत दिने दावी समेत गरे ।

अवको तीन दिन सूर्यमा आउने मतको सुरक्षा गर्न नेता कार्यकर्तालाई निर्देशन दिदै उनले भने, ‘यो तीन दिनमा मतको सुरक्षा गर्नुपर्छ । हामीमाथि कुटपिट हुनसक्छ, मत कब्जा हुनसक्छ । त्यसैले परिणाम नआउँदासम्म मतपत्र आँखाबाट ओझेल पर्न दिनुहुँदैन ।’ ओलीले विगतमा निर्वाचन अधिकृतको भुमिका समेत ठिक नरहेको उदाहरण पेश गरे ।

भरतपुर, चितवन सिन्धुपाल्चोक, दोलखा लगायत धेरै ठाउँमा कब्जा गरिएको भन्दै उनले ‘कुनै नेताले कुनैपनि हालतमा जित्नुपर्छ, ६४ को जस्तो बनाउनुपर्छ । के भनेको त्यो ?’, भनेर प्रश्न गरे ।  अध्यक्ष ओलीले निर्वाचन आयोग र निर्वाचन गराउन खटिने कर्मचारी सुरक्षाकर्मीलाई पनि निष्पक्ष निर्वाचन गराउन लाग्न आग्रह गरे ।

‘निर्वाचन आयोग, सेना प्रहरी, प्रशासन,कर्मचारी सवैले आफ्नो कर्तव्य दृढतापूर्वक पुरा गर्नुस्’, ओलीले निर्वाचन निष्पक्ष र शान्तिपुर्ण बनाउन ध्यानाकर्षण गराए । उनले एमालेले कसैको विरोध नगर्ने र विरोध गर्ने अवस्थामा नपुर्याउन पनि आग्रह गरे ।

अध्यक्ष ओलीले निर्वाचन आयोगले रुख हरियो हुन्छ भनेर मतपत्रको रङ परिवर्तन गरेको भन्दै त्यस्तो गल्ती अव नदोहोर्याउन सुझाव दिए । ओलीले काँग्रेसले संसद भंग गर्दा सदर हुने एमालेले गर्दा बदर हुने सर्वोच्च अदालतले फैसला गर्ने गरेको इतिहास रहेको भन्दै अहिले लोकतन्त्रविरुद्धका आचरण हुँदा पनि कोही किन बोल्दैन ? भनेर प्रश्न गरे । उनले भने, ‘कसलाई कसले ब्याट्री हालेको छ थाहा छैन ।’​

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे