राप्तीको ३ वटा कार्यालयमा पहुँचयुक्तता परिक्षण, अपाङ्गमैत्री संरचना बनाउन खोजिए पनि मापदण्डमा कमी



राप्तीको ३ वटा कार्यालयमा पहुँचयुक्तता परिक्षण, अपाङ्गमैत्री संरचना बनाउन खोजिए पनि मापदण्डमा कमी

भालुवाङ २६ वैशाख । राप्ती गाउँपालिकाको ३ वटा कार्यालयमा पहुँचयुक्तता परिक्षण कार्य सोमवार सम्पन्न भएकोे छ । हामीलाई पनि समावेश गर परियोजना अन्तरगत राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेशको आयोजना सिसहनियाँ स्वास्थ्य चौकी, राप्ती गाउँपालिका ८ नम्बर वडा कार्यालय पिपरी र इलाका प्रहरी कार्यालय भालुवाङमा पहुँचयुक्तता परिक्षण गरिएको हो ।

सरकारी तथा गैरसरकारी कार्यालय भवनका संरचनाहरु अपांगता भएका ब्यक्ति, जेष्ठ नागरिक, बालबालिका लगायत सबैले निर्बाध रुपमा ती संरचनाहरु प्रयोग गर्न सकून भन्ने हेतुले उक्त परिक्षण कार्य गरिएको महासंघकी कार्यक्रम अधिकृत गोमा पन्थीले जानकारी दिएकी छिन् । परिक्षण कार्य स्थानीय जनप्रतिनिधि, गाउँपालिकाका प्राविधिक, अपांगता भएका ब्यक्तिहरु र पत्रकारद्धारा संयुक्त रुपमा गरिएको थियो । नेपाल सरकारले अपांगता भएका ब्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका २०६९ सालमै जारी गरेपनि यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको तथा बनेका संरचनाहरु मापदण्ड अनुरुप बिरलै बन्ने गरेको बताइएको छ ।

पहुँचयुक्तता परिक्षणका क्रममा भवन परिसरमा प्रवेश गर्ने बाटो, शौचालय, खानेपानी र कार्यालय कोठाहरुको बिस्तृत नापजाँच गरि पहुँचयुक्तताको अवस्थाबारे अध्ययन गरिएको थियो भने नागरिक बडापत्र, सूचना पाटी, संकेत बोर्डहरुको अवस्थाबारे पनि अध्ययन गरिएको थियो । सो क्रममा पछिल्लो समय अपाङ्गमैत्री संरचनाहरु बनाउन खोजिएको भए पनि मापदण्ड अनुसार संरचनाहरु पुरा नभएको निश्कर्ष निकालिएको छ ।

कार्यक्रममा वरिष्ठ परियोजना संयोजक विमल बस्नेत, राप्ती गाउँपालिकाका इन्जीनियर अशोक बेल्वासे, आइटी अफिसर बालचन्द्र गुरुङ, रजिता रेग्मी प्रदेश स्तरीय कार्यदल सदस्य, कार्यक्रम अधिकृत गोमा पन्थी, जनवकालत संयोजक सरोजा भण्डारी, पत्रकार ओमप्रकाश गुप्ता, सहभागीहरु प्रमोद पौडेल, नारायण मरासिनी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे